कुस्मा- बलेवा यान्त्रिक पुल र बिश्वकै अग्लो पैदलयात्री बञ्जीपुल सञ्चालनमा - News site from Nepal

पर्वत – लक डाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तब्यमा सेवा सुचारु भएको छ ।
केवलकार मोडलमा निर्माण भएको नेपालकै एक मात्र ब्यबसायिक पुल कुस्मा- बलेवा यान्त्रिक पुल र बिश्वकै अग्लो पैदलयात्री बञ्जीपुल बिहिबार देखि नियमित रुपमा सञ्चालनमा आउने भएका हुन । कुस्मा -बलेवा यान्त्रिक पुल गएको चैत्र ९ गते देखि बन्द भएको थियो भने बञ्जीपुल ब्यबसायिक रुपमा सञ्चालनमा नआउँदै लकडाउन शुरु भएको थियो ।
यात्रुहरुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा -बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । लक डाउन खोकुलो भएको र यात्रुहरु आवतजावत गर्न थालेका कारण भौतिक दुरी कायम गरि सुरक्षाको उपाय अबलम्बन गरेर सेवा सुचारु गर्ने निणर्य गरिएको उहाँले बताउनुभयो । ‘लामो समयको बन्दपछि यात्रुहरुको सुबिधा र सुरक्षा समेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौ’ उहाँले भन्नुभयो ।
यान्त्रिक पुलमा यसअघि ८ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दुरी कायम गराउन ४ जना मात्रै यात्रु राखिनेछ । मास्क अनिवार्य लगाउनुपर्ने र प्रबेश गर्दा र झर्दा सेनिटाईजर प्रयोग गर्ने ब्यबस्था समेत मिलाइएको उहाँले जानकारी दिनुभयो । यान्त्रिक पुलबाट यस अघि दैनिक सयौ यात्रुहरु ओहोर दोहोर गर्दै आएका थिए ।
यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको बिश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबार देखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मा देखि बागलुङ्गको बलेवा सम्म निर्माण गरिएको पुलमा आवत जावत गर्न शुल्क लिएर खुल्ला गरिएको द क्लिफ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिनुभयो । पुलमा १ सय २० रुपैया तिरेर आवतजावत खुल्ला गरिएको छ ।
बञ्जी पुल संभवत नेपालको एक मात्र शुल्क लिएर पैदलयात्रा गर्न पाइने पुल हो । पर्यटक र यात्रुहरुको सुबिधालाई ध्यानमा राखेर सुरक्षाका उपाय सहित पुल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा-बलेवा जोड्नेगरी कालीगण्डकी नदीको माथि पाँच सय ३५ मिटर लम्बाई र दुई सय ४५ मिटर उचाईमा पुल निर्माण भएको छ ।
पुलमा नै सञ्चालनमा आएको बिश्वको दोस्रो अग्लो बञ्जी जम्प, बिश्वकै अग्लो स्विङ्ग र नेपालकै अग्लो लठ्ठे पिङ्ग भने तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बतानुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!