पर्वतको ऐतिहासिक ठुलीपोखरी लकडाउनमै पर्‍यो चिटिक्क, पुर्ननिर्माणको काम अन्तिम चरणमा - News site from Nepal

पर्वत –  मुलुक यतिवेला झण्डै तीन महिना लामो लक डाउनमा छ । जताततै विकास निर्माणका कामकाज प्रभावित बनिरहेका छन् । तर यहाँको ऐतिहासिक ठुलीपोखरीको पुर्ननिर्माणमा भने कोरोनाले कुनै असर पुगेन ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरीको पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । झण्डै २ सय वर्ष अघि निर्माण गरिएको उक्त पोखरी जिणर् बन्दै गएको थियो । पोखरीलाई पुर्ननिर्माण गरी महत्वपुणर् पर्यटकीय स्थल बनाउने उद्धेश्यले पुर्ननिर्माण गरिएको ठुलीपोखरी मर्मत सम्भार समितिका अध्यक्ष ढाकाराम सापकोटाले जानकारी दिनुभयो ।
सात रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ठुलीपोखरीलाई तालको रुपमा विकास गर्न लगिएको हो । पानी विहिन तथा मर्मत संरक्षण हुन नसक्दा जिणर् बनेको पोखरीलाई पुर्ननिर्माण गरिएपछि पोखरीको गहिराई समेत बढेको छ भने चौडाई समेत बढेको छ । पोखरीको चारै दिशामा बागलुङको ताराखोलाबाट ल्याईएका स्लेट ढुंगा विच्छ्याईएको छ । पोखरीको चारै तिर रेलिङ, फुट पाथ निर्माण गरिएको छ । पुर्ननिर्माण गरिएपछि ठुलीपोखरीको स्वरुप नै आकर्षक देखिएको छ ।
डब्लु डब्लु एफ, युएसएआईडी र हरियो बन कार्र्यक्रमको संयुक्त रु ५० लाख लगानीमा पोखरी पुर्ननिर्माण गरिएको हो । अहिलेसम्म पोखरीको करिब ९५ प्रतिशत काम   सकिएको छ भने चारैतीर बगैचा बनाउने, विद्युत जडान लगायत केहि काममात्र बाँकी रहेको समितिका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।


वर्षायाममा मात्र पानीले भरिने उक्त पोखरी अब बाह्रैमास भरिने भएको छ । यो एउटा कृत्रिम तालजस्तै देखिने भएको छ । यो पोखरीलाई पर्यटकीय तथा आयआर्जनका हिसावले बिकास गर्दै लैजाने योजना रहेको छ । गएको जेठमा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको रु १० लाख रुपैया बजेटवाट पुर्ननिर्माणको काम थालिएकोमा एक वर्षमा सम्पन्न हुन लागेको हो ।
पर्वत कास्की र स्याङजाको संगम स्थल प्रसिद्ध पञ्चासे, पर्वत र स्याङ्जाको संगम स्थल डहरेदेउराली, अन्धाअन्धी, बाटुलेचौरको पेरिफेरीमा रहेको यो पोखरीको संरक्षण सँगै स्थानीयवासीहरुले यसको उपयोगबाट धेरै फाईदा लिन सक्ने भएका छन् । पोखरीमा पानी भरिएसँगै डुंगामा शयर गर्न र पोखरीकै अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने कुश्मा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो । यो पोखरी सँगै सयौ वर्ष पुरानो इनार समेत मर्मतको काम भैरहेको छ भने आसपासमा साना पाँच वटा पोखरीहरु समेत निर्माण गरिएको छ ।


पोखरीको पुर्ननिर्माण सम्पन्न भएपनि हिउँद याममा पानीको भरपर्दो श्रोत नहुँदा बाह्रैमास भरि राख्न भने समस्या पर्ने देखिएको छ । यसका लागि छुट्टै पानीको श्रोत खोजी गर्नुपर्ने आवश्यकता रहेको निर्माण समितिका अध्यक्ष ढाकाराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पोखरीका लागि मात्रै पानीको व्यवस्थापन गर्न श्रोत खोजी कार्य थालिएको बताउनुभयो ।
साविक गाविसको नाम समेत यहि ठुलीपोखरीकै नामवाट राखिएको थियो । यस क्षेत्रका सवै नागरिकहरुको नागरिकतामा यहि ठुलीपोखरी नाम रहेकोले यसले पुर्नजिवन पाएकोमा सवैलाई गर्व महशुस भएको नेकपाका नेता मेघनाथ सुवेदीले बताउनुभयो । यसको संरक्षण र विकासमा निरन्तर ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।
ठुलीपोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उद्योग पर्यटन जन तथा वातावरण मन्त्री विकास लम्सालले लामो समयदेखि चासो राख्दै आउनुभएको थियो । त्यसैगरी नेकपाका नेता मेघनाथ सुवेदी, किशोर सापकोटा, ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेल समेत सक्रिय भएर लाग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!