लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष मल्ल - News site from Nepal

पर्वत – जनकल्याण मावि नाङ्लीवाङ्को ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका साथै नवनिर्मित भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सोमवार एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको छ । बार्षिकोत्सव समारोह एवं भवन उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले शिक्षाको गुणस्तरविना समाज रुपान्तरण गर्न नसकिने वताउँदै सबै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक सुधार अभियान सुरु गरेको जानकारी दिनुभएको छ । अध्यक्ष मल्लले व्यवसायिक, युग अनुकुल र अन्तर्राष्ट्रिय बजारमा विक्ने खालको शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको प्राविधिक शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न विद्यालय प्रशासनलाई सुझाव दिनुभएको थियो ।

अध्यक्ष मल्लले देशमा तिनतहको सरकारको छुट्टाछुट्टै महत्व र विशेषता भएपनि जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै भएकोले केन्द्र र प्रदेश सरकारको तुलनामा स्थानीय सरकार अझै बलियो बनाउनुपर्ने धारणा राख्नु भएको थियो । सरकारले निर्वाचनपूर्व गाउँ गाउँमा सिंहदरवार भन्ने सपना जनतालाई बाँडिएको स्मरण गर्दै मल्लले साँच्चीकै सिंहदरबारको अधिकारको प्रत्याभूति जनतालाई दिने हो भने स्थानीय सरकारलाई निर्वाधरुपमा काम गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । अध्यक्ष मल्लले चुनाव लड्ने बेलामा आ-आफ्नो पार्टीबाट चुनाव लडेपनि निर्वाचन पछि सबैको स्वार्थ जनताको विकास र समृद्धि भएको वताउँदै गाउँको विकासका लागि एकता र सहकार्यको संस्कृतिलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले जलजलाको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिरहेको वताउँदै गाउँपालिकाको विकासका लागि सबै जलजलाबासीको सकरात्मक सुझाव र सल्लाहको अपेक्षा समेत गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष हरिविकाश जिसीले स्थानीय सरकारसँग जनताको ठूलो अपेक्षा भएपनि विकास बजेट निकै कम भएका कारण जनअपेक्षा अनुसार काम गर्न कठिनाई भएको वताउनु भएको थियो । वडाअध्यक्ष जिसीले प्रदेश र केन्द्र सरकारका प्रतिनिधिहरू जलजलाप्रति अनुदार भएको गुनासो गर्दै उनीहरुको तुलनामा आफूले नाङ्लीवाङ्को विकासका लागि धेरै काम गरेको दावी समेत गर्नुभएको थियो । उहाँले विद्यालयको प्रगतिका निम्ति योगदान गर्ने सबैका प्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकाका गाउँ शिक्षा अधिकारी झलकनाथ आचार्य, नेकपाका जिल्ला सदस्य सोमबहादुर जिसी, नेकपा नाङ्लीवाङ्का अध्यक्ष गगनबहादुर महत, नेपाली कांग्रेस नाङ्लीवाङका सभापति रामवहादुर खत्री, विद्यालयका मानार्थ सदस्य दलबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू भीमबहादुर रेग्मी र अनिताकुमारी रेग्मी, शिब माविका प्रधानाध्यापक रत्नबहादुर केसी, विद्यालयका छात्र सागर चापागाई, कक्षा ९ का छात्रा सन्ध्या महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले विद्यालयले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य गजेन्द्रबहादुर रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक रघुनाथ सुवेदीले गर्नुभएको थियो । सोही अवसरमा विद्यालयले निर्माण गरेको नवनिर्मित ३ कोठे भवनको समेत अध्यक्ष मल्लले उद्घाटन गर्नुभएको थियो भने विद्यालयमा निर्माण गरिएको चमेनागृहको वडाअध्यक्ष हरिविकाश जिसीले गर्नुभएको थियो । २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल दुईसय ६५ जना छात्र छात्राले अध्ययन गरिरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!