स्वास्थ्य सामग्री चीनबाट ल्याउने टुंगो - News site from Nepal
स्वास्थ्य सामग्री चीनबाट ल्याउने टुंगो

काठमाडौं-  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सरकारले चीनको सप्लायर्ससँग सम्झौता गरेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत औषधि तथा औषधिजन्य उपकरण ल्याउने तयारी भएको हो । उक्त कम्पनीको नाम भने खुलाइएको छैन । परराष्ट्र मन्त्रालयको संयोजनमा बुधबार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि सम्मिलित टोलीले खरिदको टुंगो लगाएको हो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र चीनको वाणिज्य मन्त्रालयको संयोजनमा आवश्यक सामग्रीको सूची तय भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औषधिबारे लगातार भिडियो कन्फरेन्समार्फत कुराकानी गरिएको जानकारी दिएका थिए। चीनले नेपाललाई सामग्री उपलब्ध गराउने ८१ औं सूचीमा राखेको थियो । तर, छिमेकको नाताले उसले तत्काल आवश्यक सामग्री उपलब्ध गराउन लागेको परराष्ट्र अधिकारीले बताए ।

चीनका विभिन्न सहरबाट जम्मा गरिएका सामग्री ग्वाङ्जाओबाट नेपाल ल्याउने तयारी रहेको जानकारी मन्त्री ज्ञवालीले दिएका थिए । प्राथमिकता र आवश्यकताका आधारमा सूची चीनमा पुगेको र त्यसबमोजिम सामान आउने परराष्ट्र अधिकारीको भनाइ छ । मन्त्री ज्ञवालीले सामान खरिदबारे दुई दिनअघि चिनियाँ समकक्षी वाङ यीसँग छलफल गरेका थिए ।

खरिद टुंगो लगाउनुअघि नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले औषधि र स्वास्थ्य उपकरण तीन तरिकाबाट खरिद गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।

निजी क्षेत्रले खरिद गर्दा सरकारले सहजीकरण गरिदिने, स्वास्थ्य मन्त्रालय र मन्त्रालय मातहतबाट खरिद गर्ने प्रक्रियालाई पनि निरन्तरता दिने र सरकारबाट सरकार (जीटुजी) मार्फत खरिदको योजना सरकारले बनाएको छ । उनका अनुसार जीटुजीमार्फत खरिदका विषयमा अब करिब टुंगो लागेको छ ।

सरकारले यसअघि ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल प्रालिसँगको खरिद सम्झौता रद्द गरेको थियो । गत चैत १६को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रिया जीटुजीमार्फत अघि बढाउने र त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सरकारले जिम्मेवारी दिएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी परराष्ट्रमार्फत स्वास्थ्य सामग्रीको सूची पठाएको थियो ।

‘जीटुजीमार्फत खरिदका विषयमा परराष्ट्र मन्त्रालयमार्फत चीनको सम्बन्धित सप्लाई गर्ने कम्पनीसँग पचात्रार भएर बुधबारै फाइनल भएको छ । तीन चरण भिडियो कन्फरेन्स भएपछि फाइनल भएको हो’, समितिका सदस्यसचिव रहेका बिडारीले भने, ‘हाम्रा आवश्यकता र चाहिएको सामग्रीका विषय, त्यसमा दुई पक्षका जिज्ञासा परराष्ट्र मन्त्रालयको संयोजनमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित बसेर टुंगो लगाइएको हो ।’

सेनाले जीटुजी प्रक्रियाबाट खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई पत्र पठाएको थियो । त्यसमध्ये चीन र भारतले सकारात्मक जवाफ दिएका थिए । जंगीअड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक स्वास्थ्य सामग्रीको सूची बनाएको थियो ।

त्यसलाई आवश्यकताका आधारमा क्रिटिकल र प्रायोरिटी १, २, ३ गरी ४ तहमा बाँडिएको थियो । त्यस्ता औषधि र स्वास्थ्य सामग्रीलाई ३६ समूहमा विभाजन गरिएको छ । उक्त इकाइमा स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सम्मिलित थिए ।

निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न ढुवानीलगायत आवश्यक सहजीकरण सरकारले गरिदिने भएको छ । स्वास्थ्य मन्त्रालय वा विभागले गर्ने खरिदलाई निरन्तरता दिने निर्णय पनि सरकारको छ । जीटुजीमार्फत सेनाले ८५ र विभागले १५ प्रतिशतसम्म खरिदको तयारी सरकारको थियो ।

लकडाउन तोडे थुनामा

उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई थप कडाइ गर्दै संक्रममितको पहिचान, परीक्षण र उपचारमा जोड दिने निर्णय गरेको छ । बैठकले नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः जोखिमयुक्त हुँदै गएको र संक्रमणको दर बढ्दै गएको निष्कर्ष निकालेको छ । यो बढीभन्दा बढी परीक्षणमा जोड दिने र कोरोना न्यूनीकरणका लागि आवश्यक सबै प्रक्रिया अवलम्बन गर्ने निर्णय गरिएको सचिव बिडारीले बताए ।

लकडाउन पालना नगरी घरबाहिर जथाभावी निस्किने, हुलमुल गर्नेलगायतलाई पक्राउ गरी थुनामा राख्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिनेछ । पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ ।

यस्तै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई डेलिकेटेड अस्पतालमा विकास गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयसँग रहेको पीसीआर मेसिन उक्त अस्पताललाई तत्काल पठाउने र आवश्यक स्वास्थ्य सामग्री थप गर्ने निर्णय समितिको निर्णय छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!