चीनको वुहानबाट १७५ नेपाली लिएर फर्कियो निगमको जहाज - News site from Nepal
चीनको वुहानबाट १७५ नेपाली लिएर फर्कियो निगमको जहाज

काठमाडौं : चीनको वुहान सहरबाट १७५ जना नेपालीलाई लिएर नेपाल वायु सेवा निगमको एयरब काठमाडौंका लागि उडेको छ।
कोरोना भाइरस फैलिएपछि घर फर्किन चाहेका १८५ मध्ये १७५ जनालाई लिएर निगमको एयरबस ३३३० अन्नपूर्ण जहाज शनिबार राति काठमाडौंका लागि उडेको हो।
नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये चारजनाले उतै बस्ने जनाएका छन्। फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन्। अब उनीहरुलाई वुहानमै क्वारेन्टाइनमा चिकित्सकीय निगरानीमा राखिनेछ। निगमको एयरबस ३३० शनिबारै अपरान्ह चीनतर्फ उडेको थियो। करिब एक महिनाको प्रयासपछि सरकारले चीनको वुहान सहर आसपासका नेपालीलाई ल्याएको हो।  शनिबार अपरान्ह ४ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  चीन प्रस्थान गरेको थियो।
कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट १ सय ७५ जना नेपालीलाई लिएर जहाज आइतवार बिहान २ बजे काठमाडौंमा अवतरण गर्ने निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दले बताए। जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक-एक जना इन्जिनियर र लोडमास्टर छन्।
चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरेको थियो। यसरी ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिनेछ। उनीहरुलाई दुई हप्तासम्म अभिभावक, आफन्तलगायत कसैसँग पनि भेट्न दिईनेछैन।
ल्याएको २४ घण्टाभित्र एकपटक कोरोना परीक्षण गरिनेछ। क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा फेरि अर्कोपटक कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आउनेजतिलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कूल १७५ मध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!