पर्वतका होमस्टेहरु कोरोनाको प्रभावले सुनसान बन्दै - News site from Nepal
पर्वतका होमस्टेहरु कोरोनाको प्रभावले सुनसान बन्दै

पर्वत : जिल्लाभित्र र बाहिरका पनि धेरैको रोजाइमा परेको कुस्मा नगरपालिका ३ दुर्लुङको चनौटेमा रहेको सामुदायिक हामेस्टेका एकजना सञ्चालक तथा व्यवस्थापक गोलमान गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै राखेर होमस्टेमा नआउन भन्दै पाहुनाहरूलाई सूचित गरे।
स्थापना भएको एक वर्षको अवधिमा नै विभिन्न स्थानीय परिकार र मनोरम दृश्यसहितको साहसिक खेलहरू रक क्लाइम्बिङ, क्यानोनिङ र केभिङका कारण पाहुनाहरूको लर्को लागेको बेलामा पाहुनाहरूलाई नआउन अनुरोध गर्दा उनको मन दुखेको छ। बेलायत र हङकङमा २५ वर्ष बिताएका गोलमानले गाउँको बसाइँसराइको अवस्था रोक्न र जन्मस्थलमा रङ भर्नकै लागि होमस्टे सञ्चालनमा ल्याएका थिए। तर, विश्वभर फैलिएको (कोभिड-१९) कोरोनाको त्रासका कारण पाहुनाहरूलाई राख्न नसकिने बताउँदै होमस्टेमा नआउन अनुरोध गर्दा मन दुखेको उनले बताए। ‘गाउँको समृद्धिका लागि भनेर नै होमस्टे सञ्चालनमा ल्याएका हौँ।
यसैमा गाउँको सपना देखेका छौँ’ गुरुङले भने, ‘कोरोनाको पूर्व सतर्कताका लागि बाध्यताले होमस्टेमा पाहुनाहरू नराख्ने निर्णय गरेका छौँ।’  मगर संस्कृति र परिकारका कारण पाहुनाहरूको भिड लाग्ने गरेको फलेवास नगरपालिका २ थापाठानाको खुममा रहेको डहरे देउराली होमस्टे पनि यति बेला सुनसान नबनेको छ।
कोरोना भाइरसको विषयमा नेपालमा पनि चर्चा सुरु भएपछि सरकारले सतर्कता अपनाउन अनुरोध गरेसँगै पाहुनाहरू आउने क्रम लगभग रोकिएको होमस्टे सञ्चालक तथा वडा सदस्य मनकुमारी थापाले बताइन्। ‘कोरोनाको त्रास फैलिएपछि पाहुनाहरू आउन नै छाड्नुभएको छ। टाढा टाढाबाट पनि पाहुनाहरू आउने गर्नुभएको थियो। अहिले ठप्प भएको छ’ थापाले भनिन्, ‘कोरोनाको त्रास नहटेसम्म पनि पाहुनाहरू आउने जस्तो लाग्दैन, आउनुस् भनेर हामीले स्वागत गर्ने अवस्था पनि त रहेन।’ दुर्लुङ र थापाठानाका जस्तै पर्वतका विभिन्न ठाउँमा गुरुङ र मगर समुदायले सञ्चालन गर्दै आएका होमस्टेहरू पाहुना विहीन बनेका छन्। होमस्टे सञ्चालन गरेर नै आर्थिक उपार्जनको बाटो रोजेकाहरूलाई पनि कोरोनाको प्रभावले असर गरेको छ।
पर्वतमा रहेका होमस्टेहरूमा पाहुनाहरू खचाखच हुँदै जान थालेपछि सञ्चालकहरूले कृषि र अन्य व्यवसायलाई शाखा व्यवसायको रूपमा लिँदै आएका थिए। होमस्टेलाई नै प्रमुख व्यवसायका रूपमा लिएकाहरूलाई भने पाहुनाहरू सुनसान बन्दा आर्थिक मार परेको छ। आन्तरिक पर्यटक नै भए पनि कोरोना सङ्क्रमणको जोखिममा रहेका कारण स्वास्थ्यलाई नै खतरामा पार्ने जोखिम मोल्नुभन्दा केही समयका लागि होमस्टेमा पाहुनाहरू नराख्नु नै उत्तम हुने होमस्टे सञ्चालकहरू बताउँछन्।
नेपालमा कोरोनाको सङ्क्रमण नभएकाले र अब गर्मी याम सुरु भएकाले पनि नेपाल यसको प्रभावमा नपर्ने र छिट्टै नै आफ्ना व्यवसायहरू पूर्ववत् अवस्थामा फर्किने उनीहरूको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!