पर्वतको जलजलामा आयोजित महायज्ञ कोरोना संक्रमणले स्थगित, क्षमा पुजा गरियो - News site from Nepal

पर्वत – विश्वभर फैलिएर आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)का कारण बैशाख १ देखि कालाञ्जर क्षेत्रमा शुरु हुने भनिएको महायज्ञ उपयुक्त मितिमा गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर क्षमा पुजा गर्दै उपयुक्त मितिमा विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउनेगरी महायज्ञ लगाउने निर्णय गरेको हो । महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को नेतृत्वमा सोमबार गएको टोलीले जलजला गाउँपालिका वडा नम्बर ६ मा पर्ने हम्पालको लेक (कालाञ्जर क्षेत्र)मा क्षमा पुजा गरेको थियो । यसअघि २०७७ साल बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन र विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउन बृहत महायज्ञको तयारी गरिएको थियो । गाउँपालिकाले महायज्ञलाई सहज गराउनका लागि ८० लाख रुपैयाँ लगाउन गरी कालाञ्जरक्षेत्रमै सडक सुविधासमेत पु¥याएको थियो ।

विश्वभर फैलिइरहेको कोरोनाका कारण महायज्ञ स्थगित गरि क्षमा पुजा गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । क्षमा पुजाका लागि अध्यक्ष मल्लसहित जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन गर्बुजा, वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष होमबहादुर पुन, समितिका उपाध्यक्ष राजुप्रसाद आचार्य, कृष्णप्रसाद पराजुली, महासचिव जगन्नाथ आचार्य, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यम शर्मा लगायतको टोली कालाञ्जर गएको थियो । कालाञ्जरमा सोमबार गिता पाठ, भागवत पाठसहित क्षमा पुजा गरिएको जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष याम शर्माले जानकारी दिए । महायज्ञ मुल आयोजक समितिको बैठकले सडक त्यहाँ पु¥याउनका लागि सहयोग गर्ने सामुदायिक बन, समिति, वडा अध्यक्षहरुलाई अध्यक्षबाट धन्यबाद दिने, कालाञ्जरक्षेत्रमा पर्यटकीय विकासका लागि आवश्यक संरचना निर्माणका लागि लिजमा दिनका लागि छलफल गरिएको र कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आब्हान गर्ने निर्णय भएको शर्माले बताए ।

अध्यक्ष मल्लले धार्मिक रुपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा समेत कालाञ्जर क्षेत्रको बर्णन गरिएकोले कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण रहेको दाबी गर्दै आएका छन् । उनले आफु गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कालाञ्जर क्षेत्रको विकासमा जोड दिदै आएका छन् । कालाञ्जर क्षेत्र मनमोहक, आकर्षक र त्यहाँबाट विभिन्न हिमऋृङ्खलाको अवलोकन गर्न सकिने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने मल्लले बताए । विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको थियो । उक्त महायज्ञ कोरोनाका कारण प्रभावित भएपनि उपयुक्त मितिमा गरिने भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको उपस्थितिमा केही महिनाअघि समिति समेत गठन गरिएको थियो । समितिको सहअध्यक्षमा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष दमबहादुर पुन रहेका छन् । समितिको उपाध्यक्षमा तीनवटै गाउँपालिकाका उपाध्यक्षहरूलाई पदेन उपाध्यक्ष तोकिएको छ । साथै समितिका अन्य दुई उपाध्यक्षमा राजुप्रसाद आचार्य र कृष्णप्रसाद पराजुली चयन भएका छन् ।
त्यसैगरि समितिको महासचिवमा जगन्नाथ आचार्य, सचिवमा नारायणदत्त सापकोटा, नारायण मल्ल, कृष्णप्रसाद रेग्मी र गोपाल आचार्य, कोषाध्यक्षमा यम शर्मा पौडेल र सहकोषाध्यक्षमा पूर्णहरि रेग्मी रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा बल बहादुर पुन, होमबहादुर पुन, घनश्याम पौडेल र पूर्णबहादुर पुन रहेका छन् । जलजला गाउँ पालिका, मोदी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका सबै वडाअध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू र वडा सदस्यहरूलाई पदेन सदस्य तोकिएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरि जलजला र सिंगो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँडेका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकार समेत हुन । अध्यक्ष मल्लले आफू शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको वताए । हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालाञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ ।
हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।
समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।

मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा.जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ ।
कालाञ्जरबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ । यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ । उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिन्छ । पर्यटकहरूलाई लोभ्याउने अर्को विशेषता पाखैभरि फुल्ने लालीगुराँस पनि हुन् । मानवीय स्वास्थ्यको लागि उपयुक्त मानिने सयौँ थरी जडीबुटीहरू उक्त ठाउँमा पाइने जलजला गाउँपालिकाका सल्लाहकार तथा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष यम शर्मा पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!