पर्बत- कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीमा रहेको आइबल एकेडेमी बोर्डीङ स्कुलले अनाथ एवं असहाय बालबालिकाहरुलाई पूर्ण छात्रबृत्ति कोटामा अध्यापन गराउने भएको छ ।
विद्यालय सञ्चालक समितिको निर्णय बमोजिम आगामी शैक्षिक सत्रबाट ५ जना अनाथ एवं असहाय बालबालिकालाई बिद्यालयले छात्रबृत्ति कोटामा अध्यापन गराउने भएको हो । सञ्चालक समितिको निर्णय संगै बिद्यालयले अभिभावकलाई छनोटका लागि फाल्गुण मसान्तसम्म त्यस्ता विद्यार्थीहरुलाई बिद्यालयको सम्पर्कमा ल्याइदिन अनुरोध समेत गरेको छ त्यसै अनुरुप छनोटको आधारमा पाचँ जना बिद्यार्थीहरुले पुर्ण छात्रबृत्ति कोटामा अध्ययन गर्न पाउने भएका हुन ।
बिद्यालयका प्रिन्सीपल बिमल पौडेलले छनोटमा परेका बिद्यार्थीहरु मध्ये सञ्चालक समितिको निर्णय अनुसारनै पाचँ जना असहाय र अनाथ बालबालिकालाई चयन गरी पुर्ण छात्रबृतिमा अध्यापन गराईने जानकारी दिनुभयो ।
बिद्यालयले बालबालिकाको लागि दिवा खाजा, स्टेशनरी तथा पोशाकको ब्यवस्थापनको लागि सहयोग गरिदिन आग्रह समेत गरेको छ । शिक्षाप्रेमी, अभिभावक, शुभ चिन्तक महानुभावहरु, बिभिन्न संघ सस्थाहरुलाई बिद्यालयले सहयोगको लागि अपिल गरेको हो । बिद्यालयले प्रदान गर्ने छात्रबृत्ती शैक्षिक सत्र २०७७ मा कक्षा नर्सरी देखि एक कक्षा सम्म भर्ना हुन योग्य अनाथ र असहाय बालबालिकाको लागि मात्र प्रदान गरिने जनाएको छ ।
छनोटमा पर्ने विद्यार्थीहरुलाई कम्तिमा पनि कक्षा पाँच सम्म भर्ना शुल्क,मासिक शुल्क एवम् परीक्षा शुल्कमा शतप्रतिशत छात्रबृत्ती प्रदान गरिने बिद्यालयले जनाएको हो ।