पर्वत- आन्तरीक राजश्व कार्यालयले सेवा कार्यालयको रुपमा पर्वतको कुश्माबाट सेवा प्रवाह गर्ने भएको छ । यस अघि पर्वत जिल्लाको लागि बागलुङ कार्यालयले सेवा प्रवाह गर्दै आइरहेको थियो ।
पर्वतको दक्षिणी क्षेत्रका करदातालाई बागलुङ जिल्ला अपायक भएको गुनासो ब्यवसायीहरुले गर्दै आइरहेका थिए । बर्षेनी करदाताहरुको संख्या बढ्दै जाँदा एउटा कार्यालयले धेरै जिल्लाका करदातालाई सेवा प्रवाहमा समस्या पर्दै आइरहेको थियो । बाहिरी जिल्लामा सेवा लिन जाँदा खर्चिलो हुनुका साथै झझण्टिलो समेत बन्दै आइरहेको थियो ।
आन्तरीक राजश्व कार्यायलले करदाता सेवा कार्यालय कुश्मामा स्थापना गर्दा पर्वतका ब्यवसायीहरुलाई ठूलो राहत मिल्ने पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले बताए । यस अघि करदाता कार्यालय कुश्मामा राख्नका लागि संघिय सांसद सहित पर्वत उद्योग बाणिज्य संघले पहल गर्दै आइरहेका थिए । फागुन महिना भित्र कार्यालय स्थापना गरी चैत्र १ गते देखि कार्यालयले सेवा प्रवाह गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।
योसंगै अव करचुक्ता प्रयोजन तथा ब्यवसायलाई मूल्य अभिबृद्धि कर तथा स्थायी लेखा नम्बर लिनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हट्ने भएको छ । कार्यालयले जिल्ला समन्वय समितिको भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
जिल्लामा झण्डै ३ हजार भन्दा बढि करदाताहरु रहेका छन । पछिल्लो समय सरकारको कर नीतिका कारण मूल्य अभिबृद्धि कर (भ्याट) बाट कारोबार गर्नेको संख्या पनि पर्वतमा बढिरहेको छ । सरकारले कर्मचारीको ब्यक्तिगत पान नम्बर समेतलाई अनिवार्य गरेसंगै करदाताको संख्यामा अझै धेरै बृद्धि हुदै गएको छ । अर्को तर्फ, दर्तावाला सबै पसलहरुलाई करनीतिले पान नम्बर अनिवार्य गरेको छ ।
यी सवै कारोबारका लागि यस अघि पोखरा जानुपर्ने पर्वतबासीको बाध्यता विगत दुई बर्ष देखि बागलुङमा सरेको थियो । बागलुङबाट पनि सेवा प्रवाह कठिन भएपछि कार्यालयले पर्वतको कुश्माबाट पर्वतका ब्यवसायीहरुलाई सेवा प्रवाह गर्न लागेको हो ।