
पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाको वडा कार्यालयको उद्घाटन गरिएको छ ।
तत्कालीन जिल्ला विकास समिति, गाविस र पछिल्लो फलेवास नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उद्घाटन गर्नुभएको छ ।
भवन उद्घाटन गर्दै नगरप्रमुख शर्माले फलेवास नगरपालिकालाई नेपालकै नमुना नगरपालिको रुपमा विकास गरिने बताउनुभयो । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका पूर्वाधारले सम्पन्न नभएसम्म नगरवासीहरु समृद्ध नहुने बताउँदै नगरप्रमुख शर्माले ११ वटै वडाको समग्र विकासका लागि नगरपालिकाले कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो । उहाँले फलेवासका देविस्थान, मुडिकुवा र खानीगाउँमा न्यूक्लियस चक्रपथ बनाउन लागिएको बताउँदै फलेवासलाई पोखरा पछिको ठुलो शहरको रुपमा विकास गर्नेगरी दिर्घकालीन योजना बनाईएको बताउनुभयो । उहाँले फलेवासका हरेक योजना र कार्यक्रमहरु दुरगामी महत्वका रहेको बताउँदै सवै योजनाको सफलताका लागि नगरवासीहरुलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले तिहार लगत्तै एक घर एक खानेपानी आयोजनालाई अघि बढाईने बताउँदै क्लिन फलेवास ग्रिन फलेवास योजनालाई सफल बनाउन नागरिहरुकै सक्रियता महत्वपुणर् हुने बताउनुभयो । उहाँले नगरका अन्य वडा कार्यालयहरुलाई पनि क्रमश भौतिक पूर्वाधार सम्पन्न बनाउन लागिएको बताउँदै यस वर्ष थप चार वटाको भवन निर्माण शुरु गरिने बताउनुभयो । खुल्ला आकाशमुनि रहेको नगरपालिकालाई आफु नगरप्रमुख भएदेखिनै गरेका प्रयास कामलेनै मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सफल बनेको बताउँदै बाँकी रहेको दुई वर्षको कार्यकालमा पनि अझै अधुरा कामहरुलाई पुरा गर्नेगरी अघि बढेको बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले सिमीत श्रोत र साधनका बीच काम गर्नुपर्दा एकैपटक सवै क्षेत्रको विकास गर्न नसकिने बताउँदै स्थानीय सरकार र नागरिकबीचको आपसी सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले नगरका हरेक कामहरुलाई पारदर्शी र नागरिकप्रति जवाफदेहि बनाउनुपर्नेमा जोड दिँदै आ-आफ्नो क्षेत्रको विकासमा आवश्यक सहकार्य गर्न आह गर्नुभयो ।
कार्यक्रममा नेकपाका नेता कृष्ण लम्साल, नेपाली काँग्रेसका जिल्ला सदस्य देविप्रसाद विलासी, फलेवास नगरपालिका वडा नं. ११ पाङराङका वडा अध्यक्ष जितबहादुर सुनार, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौडेल लगायतले बोल्नुभएको थियो ।
फलेवास नगरपालिकाका प्रवक्ता एवम् मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन फलेवास नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
सो अवसरमा वडा कार्यालेको भवन निर्माणका लागि शुरुदेखि अन्तिमसम्म सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । भने ग्रिन फलेवास क्लिन फलेवास अन्तर्गत विभिन्न ८ वटा टोलका उत्कृष्ट ८ वटा घरपरिवारलाई समेत पुरस्कृत गरिएको थियो ।