वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगार - News site from Nepal
वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगार

 काठमाडौं :  वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्।पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ। प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्।
उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी रहेको खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।
४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बढी छन्। त्यसपछि गण्डकी प्रदेश र प्रदेश ५ का युवा बेरोजगार छन्। स्वदेश फर्किएका श्रमिकमध्ये ७५ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा संलग्न छन्।
भारतबाट फर्किएकामध्ये ८६ प्रतिशत अनौपचारिक क्षेत्रमै संलग्न छन्। अन्य मुलुकबाट फर्किने श्रमिकमध्ये ३१ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न हुने गरेको अध्ययनले देखाएको छ। वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्या बेरोजगार हुँदा स्वरोजगार बनाउन सरकारले कुनै भूमिका निर्वाह गर्न सकेको छैन। विदेशबाट फर्केका युवालाई १० लाखसम्म बिनाधितो सहुलियत कर्जा दिने प्रावधान ल्याइए पनि १८ हजारभन्दा बढी इच्छुकमध्ये सय जनाले पनि ऋण पाउन सकेका छैनन्।
श्रममन्त्री रामेश्वरराय यादवले श्रमबजारमा आउने पाँच लाख युवालाई नै स्वदेशमै व्यवस्थापन गर्ने गरी सरकार अघि बढेको बताए। प्रतिवेदनअनुसार भारतबाट फर्केका ५१ प्रतिशत, मलेसियाबाट ३४.३ प्रतिशत, खाडी मुलुकबाट ३९.६ प्रतिशत र अन्य मुलुकबाट ४५.९ प्रतिशत कुनै पनि काम गर्दैनन्। त्यस्तै भारतबाट फर्केका ११.९ प्रतिशत, मलेसियाबाट १४.९ प्रतिशत, खाडीबाट फर्केका १५.७ प्रतिशत र अन्य देशबाट फर्केका ११.२ प्रतिशतले काम खोजे पनि नपाएर बेरोजगार बस्न वाध्य छन्।
विदेशबाट फर्केका अधिकांशले रोजगारी पाउँदैनन्। आफैं लगानी गरेर स्वरोजगार बन्न चाहे पनि उपयुक्त वातावरण नबन्दा पुनः वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!