गोरखपुरदेखि रुपन्देहीसम्म पाइपलाईनबाट ग्यास ल्याईँने - News site from Nepal
गोरखपुरदेखि रुपन्देहीसम्म पाइपलाईनबाट ग्यास ल्याईँने

 काठमाडौंं : भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ।
रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो। ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुने छ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहकोे बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो ।
बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिए। ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताएको खबर गाेरखात्र दैनिकमा छ।
भारतीय पक्षको मागअनुसार अहिले मन्त्रालयले भविष्यमा मुलुकलाई आवश्यक पर्नसक्ने प्राकृतिक ग्यासको आवश्यकता र मागको विवरण सङ्कलन गरिरहेको छ । सङ्कलन र अध्ययन कार्य सम्पन्न भइसकेपछि भारतीय पक्षलाई ‘माग प्रक्षेपण’ बुझाइने छ, उनले भने, “माग प्रक्षेपण बुझाइसकेपछि प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी, लागतबारे अध्ययन गरी निर्माण अगाडि बढाइने छ। ”

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!