लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नु हुन्छ ?’ - News site from Nepal

काठमाडौं –  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबरजस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।

यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाए जति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए :-

‘मलाई कोरोना लागेको शनिबार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रबार मसहित ३२ जनाको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । म सेल्सको काम गर्ने भएकाले बजार जान्थें तर सावधानी अपनाउँथें । कहाँबाट सर्‍यो थाहै छैन ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।

फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन ।

आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।

उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । तीन दिन भयो । कतैबाट खबर आएको छैन ।

सुरुमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमबारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नु भएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नु भएन ।

सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने ।

मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले आज (मंगलबार) त कसैलाई फोन पनि गरिनँ ।

मलाई सास फेर्न एकदम गाह्रो भइरहेको छ । सुक्खा खोकी रोकिएको छैन । थुक निल्न पनि अप्ठ्यारो हुन्छ । सुत्न त झन् गाह्रो हुन्छ । रुघा पनि छ । कोठामा एक्लै छु । कोठामा आवश्यक सामान साथीहरूलाई ल्याइदिन भन्छु । म संक्रमित भएको घरबेटीलाई थाहा छैन ।

घरबेटीले थाहा पाए भने निकालेर पठाउँछन् । अनि कहाँ जानु ? घरबेटीले थाहा नपाउन् भनेर साथीहरूलाई सामान ल्याएर ढोका बाहिर छाडेर सुटुक्क जानू भन्ने गरेको छु । साथीहरू बाहिर गएपछि अनि हतार हतार सामान भित्र ल्याउँछु ।

सास फेर्न गाह्रो भएपछि तातोपानीको बाफ लिन्छु । बिहान उठेर सुरुमा तातोपानीमा बेसार, नुन, अदुवा र मरिच राखेर एक ग्लास खान्छु । त्यसपछि उसिनेको अण्डा र फलफूल खान्छु । दिउँसो पनि तातोपानी तुलसी खान्छु । बिहान बेलुका खाना खान्छु । बेलुका पनि बेसार, अदुवा पानी खान्छु । सुत्ने बेला दूधमा बेसार राखेर खान्छु ।

कोठामा कोही नभएकाले सकिनसकी आफैं पकाएर खान्छु । म अस्पतालको आइसोलेसनमा हुन्थें भने के खाने के नखाने, डाक्टरसँग सोध्न सकिन्थ्यो । अरू संक्रमितसँग कुरा गर्दा तनाव कम हुन्थ्यो । घरमा चिन्ता हुन्छ भनेर आमाबुबालाई पनि म संक्रमित भएको खबर सुनाएको छैन । पैसा चाहिन सक्छ भनेर दाइ भाउजूलाई चाहिँ खबर गरें । अफिसमा साथीहरूलाई थाहा छ । आवश्यक सामान अफिसले नै पठाई दिने गरेको छ ।

मलाई सरकारले आइसोलेसनमा लगेको भए मैले अरूलाई सामान ल्याइदेऊ भनेर हारगुहार गर्नु पर्दैनथ्यो । लक्षण भएका म जस्ता लाई चाहिँ अस्पतालमै लगेर उपचार होस् भन्ने मेरो अनुरोध छ । अस्पतालमा हुँदा चिकित्सक, नर्ससँग कुरा गर्न सकिन्थ्यो । उनीहरूलाई आफ्नो समस्या सुनाउन पाइन्थ्यो । कोठामा बसेर कसलाई सोध्नु ?

मैले चिनेको एक जना डाक्टरलाई सोधेर भिटामिन सी र सुक्खा खोकी हटाउन एलेग्रा १८० खाइरहेको छु । बिहान शारीरिक व्यायाम गर्छु । तीनतले घरको भुइँ तलामा खोक्दै कहिले ओछ्यानमा छटपटिन्छु, कहिले बाथरुममा छिर्छु । अलि समस्या भएजस्तो हुँदा सुत्छु । कुनै बेला गाह्रो भयो भने कहाँ जानु, कसलाई भन्नु भन्ने चिन्ता लाग्छ ।

सास फेर्न गाह्रो भएको व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने सुनेको छु । त्यसैले मलाई अस्पतालमा आइसोलेसनको व्यवस्था गरिदिन अनुरोध छ । कोरोना संक्रमितको संख्या बढ्छ भन्ने अनुमान हुँदाहुँदै पनि आइसोलेसनको व्यवस्था छैन भन्दा दिक्क लाग्छ ।

अहिले दिनमा सय हाराहारी संक्रमित देखिँदा त सरकारको तयारी यस्तो छ भने अरू देशमा जस्तो हजारौं देखिए भने संक्रमितको व्यवस्थापन कसरी होला ? भोलि–पर्सिको स्थितिलाई कसरी व्यवस्थित गर्ने योजना बनाउन पनि ढिलाइ नहोस् । म जस्ता संक्रमितले आइसोलेसनको अभावमा कोठामा छटपटाउन नपरोस् ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari