पर्वतको दुर्लुङ्गका पहिरो पिडीतलाई दुर्लुङ सम्पर्क मञ्च हङकङको साढे ५ लाख आर्थिक सहयोग - News site from Nepal

पर्वत – पर्वतको कुस्मा नगरपालिका -३ दुर्लुङमा गएको पहिरोका पिडीत परिवारलाई दुर्लुङ सम्पर्क मञ्च हङकङले आर्थिक सहयोग गरेको छ ।
दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार आयोजित एक कार्यक्रमका बिच ५ लाख ३६ हजार ९६ रुपैया आर्थिक सहयोग गरेको हो ।
कुस्मा नगरपालिका वडा नं ३ को आयोजनामा भएको कार्यक्रममा पिडीत परिवारलाई मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले नगद सहयोग हस्तान्तरण गर्नुभयो ।
मञ्चको तर्फबाट परिवारका सदस्य गुमाएका ओमबहादुर थापा र बिकास बिकलाई प्रति परिवार २ लाखका दरमा आर्थिक सहयोग गरेको छ भने माइतीमा आएका बेला मृत्यु भएकी दिर्पा थापाको परिवारलाई ७० हजार सहयोग गरेको छ । यसैगरी पहिरोमा घर भत्तेका बिनोद सार्कीलाई २५ हजार, भुवन गिरीलाई १२ हजार १ सय सहयोग गरेको छ । यस्तै पहिरोमा बिस्थापित भएका नन्दी गुरुङ्ग र पशुपति सिञ्जालीलाई प्रति परिवार १२ हजार रुपैयाका दरमा सहयोग गरिएको छ भने पहिरोको समयमा मानवीय उद्दारमा खटिएकी स्वास्थ्य चौकीकी कार्यलय सहयोगी इश्वरी शर्मालाई पनि ५ हजार सहयोग गरिएको छ । मञ्चले हङकङमा सहयोग रकम संकलन गर्ने क्रममा पर्वत क्लब हङकङ र नमोबुद्ध आमा समुह हङकङको पनि ठुलो सहयोग रहेको अध्यक्ष मञ्चका अध्यक्ष उद्दिम गुरुङ्गले जानकारी दिनुभयो ।
सहयोग रकम हस्तान्तण गर्दै मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले दुर्लुङमा भएको मानवीय क्षतिले देश बिदेशमा रहेका दुर्लुङबासी र शुभेच्छुकहरुलाई पिडाबोध भएको बताउँदै सम्पर्क मञ्चले आफ्नो गाउँमा भएको पिडामा थोरै भएपनि सहयोग गरेर पिडामा मल्हम लगाउने काम गरेको बताउनुभयो । पहिरोका कारण अकल्पनीय मानवीय क्षति भएको चर्चा गर्दै सहसचिब गुरुङ्गले यस्तो बिपदको घडीमा सबैले एक भएर पिडीत परिवारको राहात र उद्दारको काममा लाग्दा पिडीत परिवारलाई राहत र समुदायको बिचमा एकताको सन्देश जान्छ भन्नुभयो ।
उहाँले दुर्लुङबासी, चेलीबेटी र शुभेच्छुकहरुको सहयोगमा नै रकम संकलन गर्न संभव भएको बताउँदै माइतीमा आएकी चेली र भान्जाको नाममा नमुना अक्षयकोष स्थापना गर्न रकम संकलन भैरहेको पनि जानकारी दिनुभयो । दिर्पा बिबेक अक्षयकोषको रकमले भविश्यमा बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक प्रकोपबाट पिडीत परिवारलाई राहत दिने उद्देश्यले नवप्रतिभाशाली युवाक्लबले अक्षयकोष स्थापना गर्न लागेकोले देशबिदेशबाट सहयोग रकम जुटिरहेको छ भन्नुभयो ।
कुस्मा नगरपालिका वडा नं ३ का अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङ्गमा भएको प्राकृतिक बिपत्तीमा देश बिदेशबाट ठुलो रकम सहयोग भएको बताउँदै संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहबाट पनि राहत र पुर्नस्थापनाका लागि काम भैरहेको छ भन्नुभयो । कार्यक्रममा स्वागत वडा सदस्य यमनाथ शर्मा र सञ्चालन वडा कार्यालयका सचिब यामप्रसाद शर्माले गर्नुभएको थियो ।
दुर्लुङमा जेठ ३१ गते राती गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो धेरै परिवार बिस्थापित भएका छन । पहिरो गएपछि रोकथाम र पुर्नस्थापनाको काम समेत भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari