योजना कार्यान्वयनमा जुट्दै पर्वतको जलजला गाउँपालिका - News site from Nepal
योजना कार्यान्वयनमा जुट्दै पर्वतको जलजला गाउँपालिका

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वयनलाई तिव्रता दिएको छ । सडक,सिँचाई,कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधार तर्फका योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो । उपभोक्ता समिति मार्फत कार्यान्यन गरिने योजनाहरुको उपभोक्ता समिति गठन र सम्झौता गरी धमाधम कार्यान्यनको चरणमा प्रवेश गरेका छन् ।

गाउँसभाबाट विनियोजन भएका दुई सय ३६ योजना मध्य माघको तेस्रो सातासम्म एकसय ५७ योजनाको उपभोक्ता समिति गठन भई सम्झौता भएको योजना शाखाका अधिकृत गोविन्दराज जिसीले जानकारी दिनुभयो । उहाँका अनुासर ४९ वटा सम्पन्न भएका र एकसय ८ वटा योजनाहरु कार्यान्वनयको अवस्थामा रहेका छन् ।

योजना शाखाले दिएको जानकारी अनुसार ५० लाख भन्दा माथिका दुईवटा,१० लाख देखि पचास लाख सम्मका १५ वटा योजना विनियोजन भएकामा ११ वटा योजना सम्झौता भई १० वटा कार्यान्वयनको अवस्था र एउटा योजना सम्पन्न भएको छ ।

यसै गरी ५ लाख देखि १० लाख सम्मका ३० वटा योजना विनियोजन भएकामा २३ वटा योजनाको सम्झौता भएको र १९ वटा कार्यान्वयनको अवस्थामा प्रवेश गर्नुका साथै ४ वटा सम्पन्न भएको अधिकृत जिसीले जानकारी दिनुभयो ।

पाँच लाख सम्मका एकसय ८९ योजना विनियोजन गरेको गाउँपालिकाले एकसय २१ योजनाको सम्झौत गरी ७७ योजना कार्यान्वयनको अवस्थामा प्रवेश गरेको र ४४ वटा योजना सम्पन्न भएको योजना शाखाका देवराज पुरीले जानकारी दिनु्भयो ।

वडाबाट सिफारिस भई गाउँपालिकाबाट विनियोजन भएका विकास योजनाहरुको कार्यान्यनमा उपभोक्ता समितिहरु जुटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । असारे विकासलाई नियन्त्रण गर्ने गरी योजना कार्यान्वयनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अधिकृत शर्माले बताउनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमका लागि पँुजीगत शिर्षकमा बिनियोजन भएको १४ करोड ६७ लाख ७५ हजार रुपैयाँ मध्य करिब चार करोड अथवा २६.३९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!