
पर्वत- पर्वतको फलेवास नगरपालिकाका कृषकलाई मिनिटिलर हलो वितरण गरिएको छ । मुडिकुवा, देवीस्थान र कुर्घाका किसानलाई मिनिटिलर वितरण गरिएको हो । ब्लक सञ्चालक समितिमा आबद्ध कृषकलाई हालै ३१ ओटा मिनिटिलर वितरण गरिएको हो ।
कृषकलाई धान काट्ने ब्रश कटिङ मेशिन चारओटा र हिले फाली १७ ओटा वितरण गरिएको छ । फलेवास नगरपालिकाका प्रवक्ता एवं मुडिकुवाका वडाध्यक्ष टीकाराम गौडेल र फलेवास ६ देवीस्थानका वडाध्यक्ष भोलानाथ शर्माले किसानलाई यान्त्रिक सामग्री हस्तान्तरण गरे ।
नगरपालिकाका तीनओटा समेटेर हालै धान ब्लक कार्यक्रम शुरू भएको छ । वडा नं ४ मुडिकुवा, वडा नं ६ देवीस्थान र वडा नं १० कुर्घामा धान ब्लक क्षेत्र विस्तार भएको हो । धान ब्लकमा समेटिएका किसानलाई हलो वितरण गरिएको धान ब्लक सञ्चालक समितिका अध्यक्ष बलराम भुसालले जानकारी दिए ।
धानको उत्पादन बढाउने, व्यावसायिक रूपमा धानको क्षेत्र विस्तार गर्ने र स्थानीय जातको धानबालीलाई संरक्षण गर्ने हेतुले धान ब्लक क्षेत्र बनाइएको कृषि ज्ञान केन्द्र, पर्वतले जानकारी दिएको छ । केन्द्रका अनुसार धान ब्लक क्षेत्रमा ५०० हेक्टर जमीन सटेटिएको छ । किसानहरूको भेलामार्फत ब्लक सञ्चालक समिति गठन गरी धान खेती गर्ने जमीनको छनोट गरिएको छ । तीनओटा वडाका १ हजार ३०० घरधुरीका किसान ब्लक क्षेत्रमा समावेश भएको केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए । कार्यालयले ब्लक सञ्चालक समिति मार्फत बाँडफाँट गर्नेगरी आवश्यक मिनीटिलर हलो, सिँचाइको कुलो, प्रशोधन उद्योग, मल, बीउ लगायत शीर्षकमा ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको उनले बताए ।