पर्वत– नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहहरुलाई सम्मान गरेको छ । प्रहरीले संचालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्वतका दुई नगरपालिका र पाँच गाऊँपालिकालाई प्रसंसा पत्रले सम्मान गरेको हो । प्रहरी प्रधान कार्यालयले पठाएका प्रसंसा पत्र आइतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सातै पालिका प्रमुखलाई हस्तान्तरण गरिएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रसंसा पत्र प्रदान गरिएको हो । २०७५ कात्तिक देखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले विभिन्न १२ वटा विधामा रहेर कार्यक्रम संचालन गरेको थियो । समुदाय, विद्यालय, स्थानीय तह, विभिन्न सामाजिक संघ संस्था, कर्मचारी, मजदुर लगायतलाई सहभागि गराएर प्रत्येक वडा, टोल र गाउँसम्म पुगेर कार्यक्रम संचालन गरिएको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम निकै प्रभावकारी समेत बनेको थियो । प्रसंसा पत्र वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्र्वतका संयोजक मनोहर बि पौडेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै सफल भएको बताउनुभयो । उहाँले सरकारले अघि सारेको सुखि नेपाली समृद्ध नेपाललाई सफल पार्नका लागि पनि यो कार्यक्रम महत्वपुर्ण बनेको बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरण दिनुपर्ने बताउनुभयो । विगतमा प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा जस्ता कार्यक्रम छाटो समयमै हराएको बताउँदै यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्य जस्तै भैसकेको अवस्थामा प्रहरीलाई साधन र श्रोतले सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा प्रहरीको पहुँचलाई बृद्धि गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारपनि आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गर्नुभएको छ । उहाँले प्रहरी र स्थानीय तहबीच राम्रो सहकार्य भएको बताउँदै आगामी दिनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सहकार्यको खाँचो रहेको बताउनुभयो । सो अवसरमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमीरेले जनताको बिचमा प्रहरी जाने यो भन्दा राम्रो कार्यक्रम आगामी दिन आउन नसक्ने बताउनुभयो । समुदायलाई सचेतीकरण गर्नका लागि यो कार्यक्रम सफल भएको बताउँदै शिक्षा, स्वास्थ्य र अपराध न्यूनिकरणमा यो कार्यक्रमको भूमिका महत्वपुर्ण देखिएको बताउनुभयो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिवप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रहरी नायब उपरिक्षक स्यामु अर्याल र संचालन प्रहरी नायव निरिक्षक पुर्णिमा थापाले गर्नुभएको थियो ।