
पर्वत – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण पर्वत जिल्लामा संचालित संचार माद्यामहरु धरासायी बन्दै गएका छन् ।
नेपालको चौथो सानो जिल्लाको रुपमा रहेको पर्वतमा संचालित विद्युतीय, छापा र अनलाईन संचार माद्यामहरुको अवस्था दयनिय बन्दै गएको हो । पर्याप्त उद्योग कलकारखालाको अभाव, लक डाउनका कारण बजारसमेत बन्द भएकाले दैनिक आउने व्यावासयिक विज्ञापन बन्द हुनु र अन्य आम्दानीका श्रोत समेत नभएपछि संचार माद्याम र त्यहाँ आवद्ध संचारकर्मीहरु दिन प्रतिदिन समस्यामा पर्दै गएका छन् ।
प्रेस काउन्सिल नेपालले बुधवार कुश्माबजारमा आयोजना गरेको कोभिले मिडियामा पारेको प्रभाववारे अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय संचार माद्याम संचालक तथा पत्रकारहरुले स्थानीय मिडियामा काम गरेर विहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको जनाएका छन् ।
पर्वतमा ७ वटा एफ.एम रेडियो स्टेशन, १ दैनिक पत्रिका, आठ वटा साप्ताहिक पत्रिका, तीन वटा त्रयोमासिक पत्रिकाहरु नियमित रुपमा संचालन हुँदै आएका छन् । त्यसैगरी झण्डै डेढ दर्जनको हाराहारीमा अनलाईन पत्रिकाहरु रहेका छन् ।
साँघुरो विज्ञापनको बजार र बढ्दो संचार माद्यामको चुनौतीका बीच भित्रिएको कोभिड-१९ को महामारीले संचार माद्याम बन्द गर्नुको विकल्प नरहेको स्थानीय पञ्चासे एफ.एमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो-‘रेडियामा कार्यरत झण्डै दर्जनको संख्याका संचारकर्मिलाई नियमित पारिश्रमिक, घरभाडा र विद्युत महसुल तिर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ ।’ महामारीको बेला राज्यवाट समेत कुनै सहयोग नपाउँदा झनै पिडा हुने गरेको उहाँले बताउनुभयो ।
चैत ११ गतेपछि भएको लकडाउनका कारण रेडियोमा बजिरहेका अधिकांस स्थानीय विज्ञापनहरुको व्यावसायिहरुले भुक्तानी दिन सकेका छैनन्, यस्तो अवस्थामा रेडियो प्रशारणलाई निरन्तरता दिन नसकिने रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको दुःखेसो रहेको छ । उहाँले भन्नुभयो-‘कि त बन्द गर्नुपर्यो, कि त राज्यले तत्कालका लागि अनुदानको व्यवस्था गर्नुपर्यो । सरकारी निकाय र स्थानीय सरकारहरु समेत सञ्चार माध्यमप्रति अनुदार बन्दा निरन्तरता दिन समस्या परेको उहाँको भनाई रहेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलले भोको पेटले समाज र नागरिकको सेवामा हिडिरहनुपरेको बताउँदै कोभिडले मुलुकमा सवैभन्दा ठुलो समस्या मोफसलका संचार माद्याममा परेको बताउनुभयो । उहाँले यसका लागि तीनवटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले कोभिड-१९ ले मुलुकभरका संचार माद्यमहरु समस्यामा परेको बताउनुभएको छ । लकडाउनका कारण विज्ञापन रोकिँदा सञ्चार संस्थाहरु ठुलो आर्थिक मन्दिमा परेको बताउँदै यसका लागि काउन्सिलले आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले संचार माद्यामहरु पनि जिम्मेवार बनेर महामारीलाई न्यूनिकरण गर्न राज्यको साझेदारको रुपमा काम गर्नुपर्ने बताउँदै संचार माद्याम र संचारकर्मीहरुले भोगेको समस्याबारे माथिल्लो तहमा छलफल गर्ने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले कोरोना भाईरसका कारण मुलुक चौतर्फि समस्यामा परेको बताउँदै स्थानीय सरकारले श्रोतले भ्याएसम्म संचार माद्यामलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राज्यले संचार माध्यमलाई बास्तविक चौथो अंग मान्ने हो भने समस्या नहुने बताउँदै स्थानीय सरकारलाईलाई संचार माद्यामप्रति उत्तरदायि बन्न आग्रह समेत गर्नुभएको छ । उहाँले सुचना विभाग र प्रेस काउन्सिलले काठमाण्डौ र बाहिरका मिडियाहरुलाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका बरिष्ठ प्रशासन सहायक महेन्द्र सिंहले प्रेस काउन्सिलको आचारसंहिता र यसको कार्यान्वयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागि पत्रकार वैकुण्ठ गिरी, सन्तोष थापा, अगन्धर तिवारी, माया अधिकारी, सुमन थापा, ठाकुर रसाईली, उत्तम अधिकारी लगायतका छापा, अनलाईन र विद्युतीय संचार माध्यम र आफुहरुलाई परेको समस्याका बारेमा गुनासो राख्नुभएको थियो ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब गणेश गिरीले गर्नुभएको थियो ।