गण्डकी प्रदेशमा २७ डेङ्गी सङ्क्रमित भेटिए - News site from Nepal
गण्डकी प्रदेशमा २७ डेङ्गी सङ्क्रमित भेटिए

कास्की – गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिएका छन् ।
कोरोना भाइरसको जोखिमकाबीच डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । अहिलेसम्म ती ६ जिल्लामा डेङ्गीका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका बताइएकाे छ ।
गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक/एक जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हाे । निर्देशनालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गी सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजना अनुसार लामखुट्टेको सर्भे गरिएको बताउनुभयो ।
उहाँका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाेले त्याे क्षेत्रलाई डेङ्गी रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणकाे गतिविधि सुरु गरिएको छ ।
कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेङ्गी सङ्क्रमण फैलन नदिनकाे लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम सुरु गरिएको निर्देशनालयले जनाएको छ ।
डेङ्गी ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खालागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने आदि लक्षण देखिन्छन् ।
त्यसैगरी स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत जस्ता लक्षण देखिने भएकाेले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!