गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा लामाखेतमा सोमबार भएको सातौ गाउँसभामा कुल ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा १८ करोड ९० लाख ९१ हजार ९८० रुपैयाँ खर्च भएको जानकारी गराइएको हो ।
गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा बिनियोजन भएको १४ करोड दुई लाख ७५ हजार रुपैयाँ मध्य करिब चार करोड अथवा २६.३९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
तीन हजार १४८ जना सामाजिक सुरक्षा पाउने लाभग्राहीलाई दुई करोड ६२ लाख १४ हजार ८०० रुपैयाँ खर्च भएको छ । चालु शिर्षकको बजेटको ठूलो हिस्ता सामाजिक सुरक्षा भत्ता र शिक्षकहरुको तलबमा खर्च भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
गाउँपालिकाले यस वर्ष पचास लाख माथिका २, १० देखि पचास लाख सम्मका १५, पाँच लाख देखि १० लाख सम्मका ३०, पाँच लाख सम्मका १५९ गरि कुल २३६ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ ।
पुष मसान्तसम्म १५६ वटा योजना सम्झौता भएका छन् । १०८ वटा सम्झौता हुन बाँकी छ । १४५ वटा उपभोक्ता समिति, २ वटा निर्माण व्यवसाय र १० वटा अन्य बिधिबाट कार्यान्वयनमा लगिएको छ ।
शत प्रतिशत घरमा विद्युत र ९० प्रतिशत घरधुरीमा खानेपानी सुबिधा पुगेको, जलजला गाउँपालिकाले ९ वटै वडा जोड्ने सडकमा बाह्ै महिना नियमित यातायातका साधन चल्ने बनाउन प्राथमिकता दिएको अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालनका लागि आवश्यक ९ वटा ऐन सहित २६ वटा नियमावली, आचारसंहिता, कार्यबिधी र निर्देशिका तयार गरेको छ । आन्तरिक आयतर्फ ९१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा दोस्रो चौमासिकसम्म ३५ लाख १६ हजार १२४ रुपैयाँ संकलन गरेको छ ।
गत असार सम्म २९७ वटा व्यवसाय दर्ता भएको गाउँपालिकामा साउन यता दर्ता भएका १११ वटा दर्ता भएका छन् । गाउँसभाले हालसम्म भएका खर्चको अनुमोदन गर्नुका साथै व्यवसाय नविकरण गर्नका लागि कर छुट गर्ने निर्णय गरेको छ ।
गाउँसभामा वडा अध्यक्ष देविन्द्र भण्डारी, हरिबिकास जिसी, गौबहादुर पुन लगायतले योजना तथा कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहको विषयमा भनाई राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष मल्ल उपाध्यक्ष सिमा गर्बुजाले बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो ।
वडा न. ४ स्थित लामाखेतमा भाडाको घरबाट सञ्चालन हुदै आएको गाउँपालिकाले प्रशासकीय भवन लगायत स्थायी संरचना बनाउन मापदण्ड अनुसारको जग्गा खोजी गरिरहेको छ । जग्गाको खोजीका लागि प्रशासकीय अधिकृत शर्माको संयोजकत्वमा ९ वटै वडाका पार्टी प्रतिनिधिहरुलाई समेटेर गठन गरिएको समितिलाई दिइएको समयसिमा एक हप्ता थप गरिएको कार्यपालिकाका प्रवत्ता देविन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो ।
जग्गा प्राप्तिका लागि जारी गरिएको सूचना अनुसार वडा न. ४ भित्र तीन ठाउँमा जग्गा दिने प्रस्ताव आएको छ । लामाखेतमा पाँच रोपनी जग्गा दिने प्रस्ताव आएको छ । गाउपालिकाको प्रशासकीय भवनका लागि कम्तिमा १५ रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ ।
वडा न. ४ पर्ने फड्केढुङ्गा–माइनडाँडा क्षेत्रमा रोपनी जग्गा दिने प्रस्ताव आएको छ । समितिलाई उपयुक्त जग्गा छनौट गरेर सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । २०७४ असारमा भएको गाउँसभाले वडा न. ४ को लामाखेतलाई गाउँपालिकाको केन्द्र कायम गरेको थियो ।
सो निर्णय अनुसार वडा न. ३ कोतघरमा रहेको कार्यालय २०७५ बैशाखमा लामाखेतमा सारिएको थियो । लामाखेत र आसपासका क्षेत्रमा स्थायी संरचनाका लागि मापदण्ड अनुसारको जग्गा नपाएपछि सोही वडा न. ४ मानै पर्ने मल्लाजमा जग्गा व्यवस्थापन गर्ने विषयमा छलफल चलेको छ ।
जग्गा व्यवस्थापनका विषयमा आइतबार गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।