पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आउन झण्डै दुई साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सम्पन्न भैसकेको छ । अहिले प्रचार प्रसारलाई तीब्रता दिईएको छ भने आर्थिक संकलन, स्टल बुकिङ्ग, रमाईलो मेला, मुख्य प्रायोजक, सहप्रयोजक लगायतहरुसँग सम्झौताको काम समेत सम्पन्न भएको छ ।
हरेक वर्ष बजार क्षेत्रभित्र भाडामा जग्गा लिएर संचालन गर्दै आएको महोत्सव यसपटक भनेर वडागाउँमा रहेको खेल मैदानमा हुने भएको हो । महोत्सव अगावै पर्वत उद्योग बाणिज्य संघको पहलमा खेलमैदानले पुर्णता पाएपछि महोत्सवको सवैभन्दा ठुलो सफलता यसैलाई मानिएको छ । माघ ९ गतेदेख शुरु हुने महोत्सवको स्टल,मञ्च तथा रमाईलो मेलाका सामाग्रीहरु महोत्सव स्थलमा आउन थालेका छन् ।
त्यसैगरी उद्घाटन लगायतका कार्यक्रमहरु व्यवस्थापन तथा सफल पार्नका लागि शनिवार पर्वतका क्रियाशिल संघ संस्थाहरुसँग छलफल गरिएको छ । विभिन्न गैरसरकारी संस्था, सामाजिक संघ संस्था, धार्मिक संघ संस्थाहरुसँग छलफल गरिएको छ । सो अवसरमा विभिन्न संयोजकहरुले आ–आफ्नो उपसमितिको तयारीवारे जानकारी दिएका थिए ।
सो अवसरमा उद्घाटन अघिको प्रभातफेरीलाई भव्य र सभ्य बनाउन सवै संघ संस्थाको छुट्टाछुट्टै झाकी र ¥याली गरिने भएको छ । त्यसैगरी महोत्सवमा बढि भन्दा बढि दर्शकहरुलाई भित्र्याउनका लागि सवैले सामाजिक सञ्जाल वा व्यक्तिगत तवरवाट प्रचारप्रसारमा जोड दिन समेत आव्हान गरिएको छ ।
तीन तीन वर्षमा हुँदै आएको महोत्सवलाई लक्ष्य अनुरुप सफल पार्नका लागि सवै संघ संस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन् ।
गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।
हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।
महोत्सवमा कालीगण्डकी नदिमा ¥याफ्टीङ, नेपालकै अग्ला र लामा चार वटा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिवुटी, अदुवा र लप्सीका परिकारहरुको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् । त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, गण्डकी प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ ।
महोत्सवको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । त्यस्तै जिल्लाका सातवटै स्थानीय तहहरु सहआयोजकको रुपमा रहेका छन् ।
यसैबीच इनरह्वील क्लव अफ पर्वतले महोत्सव स्थलको सरसफाई गरेको छ । महोत्सवमा आउने दर्शकहरुलाई ध्यानमा राख्दै महोत्सव स्थल र कुश्मा–ज्ञादी झोलुङ्गे पुल परिसरमा सरफाई गरेको क्लवका अध्यक्ष जलन खत्रीले जानकारी दिनुभयो ।