पर्वतको महाशिलामा यसरी समापन गरियो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान - News site from Nepal

पर्वत- पर्वतको महाशीला गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको बिहीवार समापन गरिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विभिन्न कार्यक्रहरु गर्दै आएको महाशीलाले अभियानको अन्तिम दिन अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । आजै परेको ७२ औँ मानवअधिकार दिवसको समेत सन्दर्भ पारेर ‘लैंगिक हिंसाको अन्त्य र मानवअधिकार’ विषयमा अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा स्वधर्म मावि पाखापानीका निरज कार्की प्रथम, वालारानी मावि बालाकोटका सुमन गुरुङ द्धितिय, महेन्द्रोदय मावि भोक्सिङका शिला पौडेल तृतिय र गोल्र्याङधाम आधारभुत विद्यालयका अर्जुन पौडेल सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।


सो अवसरमा बोल्दै महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जनचेतनाको कमीका कारण अझैपनि समाजमा लैंगिक हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो । गरिबी, अशिक्षा र चेतनाको कमीका कारण ग्रामीण भेगमा हिंसा बढिरहेको बताउँदै विकास निर्माणजस्तै नागरिकको चेतना अभिबृद्धिमा पनि तीनै तहका सरकार लाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले १६ दिने अभियानमा मात्र नभई वर्षैभरी पिछडिएका ठाउँ र समाजमा यस्ता खालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बालारानी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाशीला गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी राना, प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय, प्रअहरुको तर्फवाट सुर्य मावि होश्राङदीका प्रअ केशब भण्डारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत बालारानी माविका प्रअ थमबहादुर नेपाली र संचालन शिक्षक केशव अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!