पर्वतको जलजलाका आठ सय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण - News site from Nepal

पर्वत – जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ ।
कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा अध्यक्ष मल्लले उक्त राहत वितरण अभियान सञ्चालन गर्नुभएको हो । जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि वितरण गर्न लागिएको उक्त राहत सामग्री अन्तर्गत प्रति परिवारलाई ४० केजी चामल, चार केजी दाल, तीन लिटर तेल र दुई केजी नून रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

आइतबार जलजला-७ धाईरिङका एकसय ७५ जना परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण शुभारम्भ गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्यालाई मध्यनजर गर्दै आफूले दाता संस्थासँग गुहारेर उक्त राहत सामग्री जुटाएको वताउनु भयो । अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति निम्न गरीब, दलित र कमजोर आय भएका समुदायलाई हेरेर यो कार्यक्रम बनाइएको वताउँदै आउँदा दिनमा अन्य वार्डमा समेत यस्तो कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष मल्लले यो राहत सहयोगका लागि समन्वय गरिदिने प्रदेश सभा सदस्य ललितकला गुरूङ र मोदी गाउँपालिका- १ भूकका वडाअध्यक्ष भूलवहादुर पौडेलप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।

जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नं -४ का वडा अध्यक्ष भीष्म मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय र कार्यपालिका सदस्य मायाकुमारी शर्मा लगायतले राहत सहयोग जुटाएर विपन्न वर्गको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लको प्रशंसा गर्नुभएको थियो । जलजला गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको संचालन जलजला गाउँपालिकाका शाखा अधिकृत लीलाधर सुवेदीले गर्नुभएको थियो । आज शुभारम्भ भएको राहत वितरण कार्यक्रम अन्य वार्डका ६ सय २५ परिवारलाई समेत भोलि र पर्सी क्रमश गरिने जलजला गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!