कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्ष यताकै उच्च सतहमा - News site from Nepal
कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्ष यताकै उच्च सतहमा

पर्वत – चिनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उच्च हिमालय क्षेत्रबाट सुरु भएर बग्ने कालीगण्डकी नदीमा पानीको सतहले २७ वर्ष यताकै उच्च बिन्दु पार गरेको छ ।
नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोम देखि म्याग्दीको उत्तरी क्षेत्रमा गए रातिदेखि नै भारी बर्षा भएका कारण नदिमा पानीको बहावले उच्च विन्दु पार गरेको हो।
२०५० साल साउन महिनामा कालीगण्डकी नदीले ९ गेज मिटरको उचाइ छोएको थियो , त्यसको ठिक २७ वर्ष पछि उक्त विन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको वहाव मापन) गर्ने गेज रिडर कृष्ण बहादुर सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षा याममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको भए पनि यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुबेदीले जानकारी दिनुभयो ।

सुवेदीले विगत २९ वर्षदेखि आँफुले कालीगण्डकी नदीमा गेज मिटर रिडिङको काम गर्दै आएको बताउनुभयो । प्रत्येक दिन विहान नदिमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरि जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेको समेत उहाँले जानकारी दिनुभयो ।
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको विभागले देशभरका नदीमा गेज मिटर राखेर पानीको बहाव मापन गर्नेे गर्दछ । विभागले यसकै आधारमा तराईका क्षेत्रमा डुवानको पूर्वानुमान र विभिन्न वातावरणीय प्रभावका विषयमा समेत अध्ययन गर्नेगरेको छ ।

बहाव बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङजाको सिमानामा पर्ने सेतीबेणीबजार सबैभन्दा बढी खतरामा परेको छ ।

कालीगण्डकी ए जलबिद्युत आयोजनाले बनाएको जलासयको सतह बढ्दै जाँदा बाढीको समयमा बजार र बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला पनि डुबानमा पर्दै आएको छ । सेतीबेणी बजारलाई डुबानबाट बचाउन कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोलिएका छन । पर्वत र स्याङनजा प्रशासनले ढोका खोल्न आग्रह गरेको छ । जलबिद्युत केन्द्रमा ४२ ढोका रहेका छन । बाढीको खतरा भएपछि सबैढोका खोल्न निर्देशन दिइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
कालीगण्डकी नदीका दुबै किनारमा कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भैरहेको छ । कालीगण्डकी र सहायक नदी तथा खोलाहरुमा पनि सडकमा खनिएको ढुंगा, बालुवा र माटो यही जलासयमा आएर भरिने थुप्रिने भएकाले थप जोखिम भएको बढेको छ । स्याङजा तर्फ आँधीखोलामा बालुवाको टापु नै बनेको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । सेतीबेणी डुबानमा पर्दा सबैभन्दा पहिले स्याङजा तर्फको भूभाग होचो भएका कारण बढी खतरामा रहने गरेको छ । जलासयबाट बालुवा निकाल्नु पर्ने माग स्थानियले गर्दै आएपनि वातावरणीय कारण देखाएर निकाल्ने गरिएको छैन । यसले गर्दा बर्षेनी डुवानको खतरा बढेको सेतीबेणीका स्थानियबासी रबि भट्टराईले बताउनुभयो ।

वर्षाका कारण नदिमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू लाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । म्याग्दी बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।

नदीमा पानीको बहाव बढेसँगै सबैभन्दा बढी जोखीम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनी बजार , पर्वतको वारी बेनी बजार, पर्वतको मालढुंगामा रहेको माझी बस्ती , सेतीबेणी वजार लगायतका क्षेत्र उच्च जोखिममा रहने गरेका छन ।

गए रातिदेखिको लगातार वर्षाका कारण म्याग्दीको उत्तरी क्षेत्र धवलागिरी र मालिका गाउँपालिकामा शुक्रबार बिहान पहिरो जाँदा २९ जना वेपत्ता भएका छन् भने १ को मृत्यु भएको छ । क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!