पर्वत– प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहको प्युठान जिल्लाका जिल्ला कमिटि सदस्य बुलेट कार्की भन्ने खिमबहादुर कार्की लाई जिल्ला प्रहरी कार्यालय पर्वतले आइतबार पर्वत जिल्ला अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।
सर्वोच्च अदालतको आइतवारको बन्दिप्रत्यक्षिकरण आदेशबाट जिल्ला न्यायधिश सुर्यबहादुर थापाको रोहबरमा रिहा भएपनि जिल्ला प्रहरी कार्यालय पर्वतले रिहा लगत्तै अदालत परिसरबाटै आइतवार दिउँसो पुनः गिरफ्तार गरेको हो ।
३७ बर्षिय कार्कीलाई ०७६ असार ४ गते कास्की प्रहरीले गिरफ्तार गरी असार ३० गते कास्की जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटाउने आदेश दिएको थियो । तत् पश्चात् धरौटी तिर्न नसकेर लामो समय सम्म कारागारमा सजाय भुक्तानी गर्दै आउनुभएका कार्कीलाई सजाय भुक्तान पछि पुस २३ गते स्याङजा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो ।
माघ २० गते साधारण तारेखमा स्याङजा जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका कार्कीलाई सोही दिन जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्माबजारको शिवालयचोकबाट गिरफ्तार गरेको थियो ।
प्रहरी हिरासतमा नै रहेका बेला माघ १३ गते कार्कीकी पत्नी भगवता ठेडीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दायर गर्नुभएको थियो । सोही रिट उपर सर्वोच्च अदालतका न्यायधिशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको आइतवारको इजलासले कार्कीलाई थुनामुक्त गर्न आदेश दिएको हो । थुनामुक्त भएका कार्कीलाई प्रहरीले स्वास्थ्य जाँच नै नगराई पुनः गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले जानकारी दिनुभयो ।