मन्त्री लम्साल द्वारा मुडिकुवाकाे केदारेश्वर महादेव मन्दिरमा पञ्चमुखी शिवलिङ्गकाे मुर्ति प्रतिस्थापन - News site from Nepal

 

२७ माघ, २०७६

फलेवास नगरपालिका वार्ड नं. ४, मुडिकुवामा रहेकाे केदारेश्वर महादेव मन्दिरमा पञ्चमुखी शिवलिङ्गकाे मूर्ति प्राण प्रतिष्ठा गरिएकाे छ । मूर्तिकाे प्रतिष्ठा कार्यक्रमलाई सम्बाेधन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले त्रिवेणी माेक्षधामदेखि दामाेदरकुण्डसम्म कालीगण्डकी तटमा रहेका थुप्रै पुरातात्विक महत्व राख्ने धार्मिक तथा साँस्कृतिक धराेहरकाे संरक्षणका लागि सँधै सकृय भएर लाग्ने बताउनुभयाे ।

त्रिवेणी माेक्षधाम देखि दामाेदरकुण्डसम्म पुग्ने याे बाटाेलाई धार्मिक सर्किटकाे रुपमा विकास गर्न सके छिमेकी राष्ट्र भारतमा ठूलाे मात्रामा रहेका हिन्दु धर्मावलम्बीहरुलाई याे क्षेत्रमा ल्याउन सकिने बताउँदै त्यसका लागि अाफू सकृय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । यस मन्दिरकाे व्यापक प्रचार प्रसार गरि धार्मिक सर्किटसँग जाेड्न सक्ने हाे भने अाज हाम्राे अास्थाकाे धराेहरकाे रुपमा रहेकाे यस मन्दिर भाेली हाम्राे अायअार्जकाे माध्यम पनि बन्ने अाफूले विश्वास लिएकाे मन्त्री लम्सालले बताउनुभयाे ।

अाफ्नै घरछेउमा रहेकाे र अाफ्नाे समेत अास्था र विश्वासकाे धराेहरकाे रुपमा रहेकाे यस मन्दिरका अधुरा काम पूरा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत मन्त्री लम्सालले व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले हाम्राे धर्म र सँस्कृतिका धराेहरका रुपमा रहेका यस्ता मठ, मन्दिरहरुलाई अब हामीहरुले स्थानीय जनताहरुकाे अायअार्जनसँग पनि जाेड्नुपर्ने बताउनुभयाे । नगर प्रमुख शर्माले नगरपालिका भित्र रहेका यस्ता सम्पदाहरुकाे संरक्षण र सम्बर्द्धन गर्न अाफू सँधै सकृय भएर लागि पर्ने बताउनुभएकाे थियाे ।

कार्यक्रमा बाेल्दै फलेवास नगरपालिकाका उपमेर मञ्जु अधिकारीले समाजलाई अनुुशासित र अाम नागरिकमा पराेपकारी भावनाकाे विकास गर्न यस्ता मठ, मन्दिर र देवालयहरुले ठूलाे भूमिका खेल्ने बताउनुभएकाे थियाे।

वि.सं. १८४२ सालमा बालसन्त चक्रु पाध्याले अाफ्नाे सबै जायजेथालाई फूलबारी क्षेत्र कायम गरी त्यही मन्दिर स्थापना गरेका थिए । उहाँ अाफ्नाे जीवनकाे उत्तरार्धमा यही फूलबारी परिसरमा याेग ध्यान गरि बस्दाबस्दै याेगासनकै क्रममा देहत्याग गर्नुभएकाे थियाे । पछी उहाँकै नाममा यस मन्दिरकाे नाम चक्रु फुलबारी मन्दिर भनी नामाकरण गरिएकाेमा हाल मन्दिरकाे नाम केदारेश्वर शिव मन्दिर राखी मन्दिर परिसरमा मन्दिरका संस्थापक चक्रु पाध्याकाे समाधीस्थल राखिएकाे छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाैडेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे फलेवास नगरपालिका वार्ड नं. ४ का वडा अध्यक्ष टिकाराम गाैंडेल, स्थानीय सामाजिक तथा धार्मिक व्यक्तित्व पिताम्वर घिमिरे, कृष्ण लम्साल, बालकृष्ण तिवारी लगायतले बाेल्नुभएकाे थियाे । ध्रुब नमूाना माध्यमिक विद्यालयका विद्यार्थीहरुबाट गीत तथा नृत्य समेत प्रस्तुत भएकाे उक्त कार्यक्रमकाे संचालन किरण पाैडेलले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!