प्रमुख समाचार

पर्वत काँग्रेसले यसरी मनायो विपि जयन्ती – विपिको विचारलाई सहि ढंगले बुझ्न जरुरी छ ः नेता जोशी

By लोकतन्त्र अनलाईन

September 09, 2020

पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले महामानव बिपि कोइराला विश्वकै समाजबादी आन्दोलनका लागि प्रेरणा भएको वताउनु भएको छ । बिपि कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली काँग्रेस पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता जोशीले देश र जनताप्रति बिपिले गरेको निष्ठा, त्याग, तपस्या र इमान्दारिताप्रति कहिकसैले पनि र देशका निरंकुश शासकले पनि प्रश्न गर्ने ठाउ नराख्नुले पनि बिपि कोइराला सबैका निम्ति प्रेरणा भएको वताउनु भएको हो । ‘जतिबेलासम्म उहाँ बाँच्नुभयो । सम्पूणर् विश्वलाई सिंगो नेपाललाई आफुतर्फ केन्द्रित गरेर उहाँका बिचार र अभिब्यक्तिका माध्यमबाट देशको राजनीति उहाँको वरिपरि भइँरहन्थ्यो । विश्वका समाजबादी आन्दोलनका लागि महामानव विपि कोइराला एउटा प्रेरणा हुनुहुन्थ्यो’ पूर्वसांसदसमेत रहेका जोशीले भन्नुभयो -‘आज हामी त्यही कारण बिपिले स्थापना गरेको पार्टीको कार्यकर्ता हौ भन्ने विश्वसामु छाती फुलाएर गौरव गर्ने अवस्था उहाँले पैदा गर्नुभएको छ ।’ नेपाली काँग्रेस र बिपि कोइरालाबिच अनुन्याश्रित सम्बन्ध रहेको भन्दै जोशीले नेपाली काँग्रेस भन्नासाथ बिपि कोइराला स्मरण हुने वताउनुभयो । नेपालको स्वतन्त्रता, राष्ट्रियताको मात्र नभइ नेपालको पहिचानका लागि, गाउँको दुरदराजमा बसेका सिमान्तकृत बिपन्न गरिबबर्गहरुलाई मुलधारमा ल्याउने उनीहरुको सम्बृद्धिका लागि कस्तो किसिमको कार्यक्रम ल्याउनुपर्छ भनेर योजना बनाउने बिपिको स्वभाव रहेको पनि जोशीले गर्नुभयो ।

बिपिका कतिपय विचार नवउपनिवेशबादी अर्थशास्त्रीका लागि नौलो लागेपनि जहिल्यसुकै बिपिको विचारमा नविनता रहने गरेको उहाँको भनाई थियो । ‘उहाँको विचारमा नविनता सँगसँगै आम तल्लो तहका जनताको भावना र विचारलाई समेट्न रुचाउनुहुन्थ्यो । त्यसैले सिंगो युगलाई नै उहाँले चलाएमान गराउनुभयो । त्यसैले उहाँलाई म युगपुरुष भनेर भन्छु’ जोशीले भने । बिपि कोइरालाको विचारको खडेरी नेपाली काँग्रेसमा परेको भन्दै उनले सबैले बिपिको अनुयायी मानेपनि बिपिको बिचारलाई सही ढंगले बुझ्ने प्रयत्न नगरेको स्वीकारे । ‘सबैले बिपिको अनुयायी मान्दछौ तर बिपिको बिचारलाई सही ढंगले बुझ्ने प्रयत्न गरेका छैनौ, आँखा नदेँख्ने ब्यक्तिले हात्तीलाई छामेजस्तै कोहीले समाजबादको मुकुन्दो बोकेर हिँडेका छौ, कोहीले राष्ट्रियताको अरु कुरा बोकेर हिँडेको छ । कोहीले प्रजातन्त्रको अरु कुरा बोकेर हिँडेको छ । समग्रतामा बिपिलाई बुझ्न जरुरी छ । समग्रमा बिपिलाई बुझ्ने भनेको देशप्रतिको इमान्दारिता हो’ नेता जोशीले भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् नेपाली काँग्रेस प्रचार तथा सुचना र सञ्चार विभागका केन्द्रीय सदस्य राधाकुमारी कुँवर क्षेत्रीले बिपि स्मृति भवन निर्माणका लागि आफुले बोलेको रकम हस्तान्तरण गर्नुभएको थियो । क्षेत्रीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् बिपि स्मृति भवन निर्माण समिति पर्वतका संयोजक अर्जुनप्रसाद जोशीलाई एक लाख ५१ हजार पाँच सय पाँच रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । बिपिको नाममा बनेको भवनमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको क्षेत्रीले वताउनुभयो । बिपि कोइराला देश, जनता र प्रजातन्त्रका निम्ति एउटा मियो भएको भन्दै क्षेत्रीले बिपिको जन्मजयन्तीको अवसरमा सबै काँग्रेसीजनलाई बिपिको विचारमा लाग्न प्रेरणा मिलोस भन्दै शुभकामना दिनुभयो ।

नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले बिपि कोइरालाले गरिब, बिपन्न र तल्लो तहका जनतालाई समृद्धिमा ल्याउन, उनीहरुलाई स्वतन्त्रता प्रदान गर्न र मुलुकमा प्रजातन्त्र ल्याउनका लागि गरेको योगदानको स्मरण गर्दै बिपिको बिचार अहिले झनै सान्दर्भिक हुँदै गएको वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमाल, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, कर्मचारी नेता राजेन्द्रबहादुर क्षेत्री, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन पर्वतका सचिव हरिनारायण रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, जिल्ला समन्वय समिति पर्वतका प्रमुखका उम्मेदवार परशुराम पुरी, कुश्मा-२ का वडा अध्यक्ष यदुनाथ शर्मा, सदस्य शान्ति कुमाल, कुश्मा-५ का वडा सदस्य उत्तम ढकाल, महिला संघ पर्वतका का.वा.अध्यक्ष मुना शर्मा लामिछाने, नेबिसंघ पर्वतका सचिव बरदान पौडेल, नेविसंघ गुप्तेश्वर क्याम्पसका सभापति शिशिर शर्मा पौडेल, नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी, सचिव साजन परियारलगायतको उपस्थिति रहेको थियो ।