पर्वतमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरेका विरामीलाई सास्ती - News site from Nepal
पर्वतमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरेका विरामीलाई सास्ती

पर्वत– बुधबार सुत्केरी सेवाका लागि पर्वत जिल्ला अस्पतालमा आउनु भएकी जलजला गाउँपालिका ८ नाग्लिवाङकी २२ बर्षिया संगम जिसीको शल्यक्रिया गर्नुपर्ने भयो । चिकित्सकले गर्भवती जाँच गरेसँगै उहाँको (ओ पोजेटिभ) व्लड ग्रुप मिल्ने व्यक्ति खोज्न आग्रह गरे । चिकित्सकको सल्लाह बमोजिम रक्तदान गर्ने मान्छे खोज्दा खोज्दै विरामीका आफन्तले सास्ती खेप्नुप¥यो । अन्ततः दाता भेटिएपछि समस्याको समाधान भयो ।
जिसी मात्रै होइन पर्वत जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी सेवाका लागि आउने विरामीहरु सवैको समस्या यही हो । पर्वत जिल्ला अस्पतालले एक साता अघि चैत १८ गतेदेखि जिल्लामा जटिल प्रकारका सुत्केरी हुने महिलाको शल्यक्रिया सेवा शुरु गरेपछि अहिले सेवाग्राहीले सेवा सँगै सास्ती पनि उत्तिकै भोग्नुपरेको छ । २०७४ सालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले व्लड बैंक स्थापना भएको सार्वजनिक भएपनि अहिले अस्पताललाई आवश्यक पर्दा पर्वतमा रगत चाहिएमा दाता गुहार्नुपर्ने अवस्था आएको छ । ‘रेडक्रसलाई पटक पटक रगत संकलनका लागि अनुरोध ग¥यौँ तर सुनुवाई भएन’ पर्वत जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीले भन्नुभयो ‘विरामीको सेवाका लागि सामाजिक सञ्जाल तथा जिल्लामा क्रियाशिल सुरक्षा निकायहरु सँग सहयोग मागेर भएपनि सेवा दिँदै आएका छौँ’ विरामीका आफन्तहरुले आफै रगत जुटाउन नसकेमा चिकित्सक र व्यवस्थापन पक्षले समन्वय गरेर रगतको समस्या सुल्झाउने गरिएको उहाँले बताउनुभयो ।
शल्यक्रिया गरेका विरामीहरुलाई अस्पतालमा रहँदा सम्म कुनै न कुनै बेला रगतको आवश्यकता पर्न सक्ने भएकाले दाताको खोजि गरी तयारी अवस्थामा राख्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल पर्वतका निमिक्त मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाले बताउनुभयो । डाक्टर देवकोटाका अनुसार पर्वत जिल्ला अस्पतालबाट एक सातामा १० जना भन्दा बढी सुत्केरीको शल्यक्रिया मार्फत सेवा दिइएको छ । यस अघि सामान्य सुत्केरी सेवा जिल्ला अस्पतालमा नै उपलब्ध भएपनि शल्यक्रिया गर्नुपर्ने विरामीहरु पोखरा जानुपर्ने बाध्यता थियो । अहिले छिमेकी जिल्ला बागलुङबाट समेत सुत्केरी सेवाका लागि अस्पतालमा आउने गरेको र कोरोनाको महामारीमा पनि सुत्केरी सेवालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको डाक्टर देबकोटाले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमणका बीच पनि बुधवार पर्वत जिल्ला अस्पतालमा चार जना महिलाले शल्यक्रिया मार्फत बच्चा जन्माएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!