
पर्वत- पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु रू.२० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो ।
‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’ गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भने, ‘अनुदान दिन किसानहरुको निबेदन संकलन गर्दैछौं ।’ किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको उनले बताए ।
बढ्दो बसाईसराईले गाउँ रित्तिँदै गएको छ । अधिकाँश यूवा गाउँमा भेटिन छाडेका छन् । खासगरी यूवा विदेश पलायन भइरहेका छन् ।
स्थानीय स्तरमा रोजगारीका कुनै संभावना नभएको हुनाले पशुपालनलाई व्यवसायिक बनाउन सके गाउँ छोडेका फर्किने अपेक्षा सहित किसानलाई पशुपालनमा आकर्षित गर्न थालिएको वडा नम्बर ३ का अध्यक्ष रणवहादुर आलेले बताए ।
‘पशुपालनमा यूवाहरुको आकर्षण बढ्न सकेको छैन,’ उनले भने, ‘पशुपालनलाई व्यवसायिक बनाउन सके यूवा बिदेश जानुपर्दैन भनरे पशुपालनलाई जोड दिएका हौं ।’ उनका अनुसार दूध उत्पादन बढाउने र गाउँ गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ ।
दूध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको उनले सुनाए ।
पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो र संभावना रहेको क्षेत्र हो । गाउँपालिकामा प्रशस्त चरन क्षेत्र, भुईघाँस र डालेघाँस लगाउने क्षेत्र पनि प्रर्याप्त रहेको छ । गाउँपालिकाले पशुपालनमा सहयोग गर्न घाँस बिस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
बजारीकरणका लागि अहिले पक्कि सडक बनाउन थालिएको छ । पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिएको प्रमुख प्रसासकीय अधिकृत ऋषीराम पन्थीले बताए ।
कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, यान्त्रिक हलो, भकारो सुधारमा पनि सहयोग गर्न थालेको उनले जानकारी दिए । पशुपालन र कृषि क्षेत्रमा चालू वर्ष उक्त गाउँपालिकाले रू. १ करोडभन्दा बढी बजेट बिनियोजन गरेको छ । विहादीमा प्रदेश सरकार मार्फत चालू वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरु गरिएको छ ।