पर्वत दुर्लुङको विनासकारी पहिरो “अझै ओभाएका छैनन् विकासका आँखा” - News site from Nepal

पर्वत- घरपरिवारको शुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र ८ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षा दिक्षा दिने सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाईरहेका विकास वि.क दिनभर ड्युटीमै रमाईरहनुभएको थियो । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षिय छोरा जेनिश विकलाई फोन गरेर भिडियो कलमा आउन आग्रह गर्नुभयो । साँझ सात बजेको थियो श्रीमती कमला खेत रोपेर घर आईसकेकी थिईनन् । छोरा जेनीशले आफ्नो मोवाईलमा ब्यालेन्स सकिएकाले ममी आएपछि भिडियो कल गर्छु भनेका थिए ।
छोराको भिडियो कल गरेपछि परिवारसँग दुःखसुःखका कुरा गर्ने पर्खाईमा रहेका विकास विकको पर्खाई जीवनभर नफर्किने गरी अस्ताएको छ । जिवनमा एकाएक बज्रपात शुरु भएको छ । लामो समय छोराको फोन नआएपछि राती ८ बजेतिर पुन उहाँले फोन गर्नुभयो । तर फोन लागेन । सोचे ठुलो पानी परेहोला, स्वीच अफ गरेर सुते होलान् । घरमा छोरा, छोरी र श्रीमती आफु खाडीमा । थिए थुपै्र रहर, सपना अनि गरिएका कल्पनाहरु ।
जव रातको ११ बज्यो सामाजिक सञ्जालमा देख्नुभयो पर्वतको दुर्लुङ्गमा दुई घर पुरिए ९ जना वेपत्ता भन्ने । तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उहाँलाई विश्वास लागेन आफ्नी श्रीमती होलिन भन्ने । किनकी गाउँमा अन्य कल्पना नाम गरेका महिलाहरु पनि थिए । यतिन्जेल उहाँले खाना खाईवरी सुत्ने तयारी गर्दै हुनुहुन्थ्यो । त्यत्तिकैमा उहाँका साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केहि नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै उहाँलाई तनाब मुक्त बनाउने प्रयास गरे ।
विकासलाई कल्पनानै थिएन कि उक्त ठाउँ दुर्लुङ्गकै फराकीलो र बलियो ठाउँमध्येको हो । त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर ८ बर्ष अघि जग्गा किनेर घर बनाउनुभएको थियो विकासले ।
मनमा धेरै डर, थोरै आशंका पैदा हुँदाहुँदै उहाँको मनले मानिरहेको थिएन । किनकी उहाँका साथीहरुले उहाँलाई मोवार्ईल हेर्न रोकेका थिए । सत्य घटना कतिवेर लुक्थ्यो र । विस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उहाँले थाहा पाउनुभयो कि श्रीमती, छोरा, छोरी पुरिईसकेको । उहाँ एकाएक बेहोस हुनुभयो । त्यसपछि उहाँका साथीभाई र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुग्नुभयो र क्वारेन्टीनमा बस्नुभयो । क्वारेन्टीको बसाई पुरा गरेपछि गएको शनिवार कोरोना परिक्षणको रिपोर्ट समेत आयो अनि बाहिर निस्किन थाल्नुभयो ।
क्वारेन्टीनवाट निस्कने वित्तिकै उहाँ जाुनभयो आफ्नो पुरिएको घर हेर्न तर सक्नुभएन हेर्न । र पुन बहोस भएर पल्टिनुभयो । अहिलेपनि पटक पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गर्नुभएको छ ।
विकास गत भदौमा एक महिना घर वसेर साउदी फर्किनुभएको थियो भने गएको जेठ १५ गतेनै घर आउने तयारीमा हुनुहुन्थ्यो । तर लकडाउनका कारण रोकिनुभएको थियो । उहाँले भन्नुभयो-‘लक डाउन नभएको भएपनि श्रीमती छोराछोरीको मुख देख्न पाउने रहेछु तर के गर्नु दैवले सवै चकनाचुर पारिदियो ।’
१२ वर्ष लामो समय खाडीमा विताउनुभएका ३२ वर्षिय विकास गाउँमै फर्केर केहि गर्ने सोचमा रहनुभएको थियो । उहाँले भन्नुभयो-‘अहिले केहि सोच्नै सकेको छैन’ छोरा छोरी र श्रीमती मरेजस्तै लाग्दैन ।
आफु विदेशमा भएपनि दैनिक १ डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको बताउनुभयो । पटक पटक भक्कानिएका विकासले भन्नुभयो ‘आखिर जीवन केहिपनि रहेनछ ।’
त्यस्तै पहिरोमा आमा बाबु र आफैले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएकै हुनुहुन्छ । न पालन पोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस् ।
आफु र श्रीमती घरभन्दा दुई सय मिटर टाढा रहेको पसलमा रहेकाले बाच्न सफल भएको उहाँले बताउनुभयो ।
बस्ती माथिवाट आएको पहिरोले पुरिएर ५३ वर्षिय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षिया मिनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा र नाती १४ वर्षिय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षिय दिपा थापा र दिपाका छोरा १७ वर्षिय विवेक थापाको मृत्यु भएको थियो । त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिक र १४ वर्षीय छोरा जेनिस बिकको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!