किशोर सापकोटा
कुरा २०५० सालतिरको हो, म कक्षा सातमा पढ्थे, बुवाले बाबु तेरो ब्रतबन्ध गर्नुपर्ने भयो, गरौंला, गरौंला भन्दा भन्दै निकै ढिला भइसक्यो भन्दै गर्दा मलाई भने एउटा कुराको ठूलो पीर थियो– ब्रतबन्ध पछि गरिने नित्य कर्म । बुवा धार्मिक स्वभावको मान्छे ब्रतबन्ध पछि नित्य कर्म नगरी सुखै दिनु हुँदैन । मनमा अनेक कुरा सोचिरहेर पनि हुन्छ भनेर बुवाको चासोप्रति सहमती जनाए । बुवाले ढिला भयो भनेर किन भन्नुभएको थियो भने प्रायजसो ब्राम्हणहरुको ब्रतबन्ध ८, ९ वर्षमै गरिसक्नुपर्छ भन्ने मान्यता थियो । त्यतिबेला म १२ वर्षको भइसकेको थिएँ ।
हुनत त्यतीबेलासम्म गाउँमा पूर्वीय दर्शन र त्यसले अवलम्बन गरेको संस्कार करिब करिब हराइसकेको थियो । विशेष गरी आधुनिक शिक्षा पढे लेखेकाहरुले पूर्वीय दर्शनलाई भन्दा पश्चिमा दर्शनलाई अगाल्दै गएका थिए । मैले विशेष गरी आधुनिक शिक्षा भनेर किन जोड्न खोजेको हुँ भने मेरो बुवाले पनि पढ्न त पढ्नु भएकै थियो तर संस्कृत शिक्षा । जसले पूर्वीय दर्शनलाई नै आत्मसात् गर्दथ्यो ।
ब्रतबन्ध गर्ने दिन तोकेदेखि मलाई एउटै कुराले पिरोली रहेको थियो– बिहान उठेर १५, २० मिनेट टाढाको पँधेरोमा गएर कपडा फेरेर कसरी नुहाउने ? पँधेरामाथि बसेर जपतप कसरी गर्ने ? घर आएर कपडा फेरेर कसरी खाने ? अनि साथीभाइकोमा जाँदा खाना खाने कि नखाने ? घिऊ हालेर भुटेको बासी भात असाध्यै मन पथ्र्यो मलाई, ब्रतबन्धपछि आमाले त्यो पनि पक्का खान दिन्नन् । मैले सोच्दथें यदि मैले ब्रतबन्धपछिको संस्कारलाई आत्मसात् गरिन भने गाउँभरी पूजापाठ गर्ने, पण्डित भनेर कहलिनुभएको बुबाको इज्यत जाने ? यदि त्यो पूर्वीय संस्कारलाई आत्मसात् गरेर बुवाले भनेझैं गरें भने पश्चिमा दर्शनमा प्रवेश गरिसकेका साथीभाइले गिज्याउने । अझै म विद्यार्थी संगठनमा पनि लागिसकेको थियो, म क्रियाशील भएको संगठनले त झन् यी धार्मिक कुरालाई मान्न हुँँदैन््, धर्म अफिम नै हो भन्दथ्यो ।
यति मात्र होइन अर्को पनि ठूलो चिन्ता परेको थियो मलाई । भर्खर किशोराबस्थामा प्रवेश गर्दै गरेको म लरक्क कपाल कोरेर साइडबाट सिउँदो काढेर हिँड्न शुरु गरेको थिएँ । ब्रतबन्ध गर्दा यति राम्रो कपाल पनि त खौरिनुपर्छ, अनि टोपी लाएर स्कुल जानुपर्छ, साथीभाइले बिल्लाउनु बिल्लाउने भए । मनमनमा यी कुराले सताउनु सताएको थियो मलाई ।
ब्रतबन्ध भयो, संयोगले त्यतिबेला विद्यालयमा लामो समयको बिदा परेको थियो । केही समय मैले बुवाले भने अनुसार नै नित्यकर्म गरें । त्यसो गर्दा त्यति असहज पनि भएन, ब्रतबन्ध गरिसकेपछि आफूलाई पनि अलि परिपक्क भएको जस्तो महशुश हुँदोरहेछ, त्यही फिलिङ गरेको थिएँ । भर्खर भर्खर विवाह गरेका आफन्तहरुले हेर केटा अब लभ गरेर केटी भगाउन पनि पाउँछस् । अब लाइसन्स पाइस् तैलें भन्थे । तर लभ गर्ने र केटी भगाउने भन्ने कुरा मैले राम्ररी बुझेकै थिइन । त्यही भएर होला, अनि भँगाएर के गर्ने त ? भनेर सोध्थें, उनीहरु हललल्ल हाँस्दथें ।
ब्रतबन्ध गरेको केही दिनसम्म बुवा आमाले भने अनुसारकै नित्य कर्म पनि गरियो । पछि विस्तारै विस्तारै त्यो संस्कार र संस्कृतिलाई विर्सदै गइयो । जति ठूलो भइयो, जति धेरै पढ्दै गइयो । मान्छे देख्दा टाढैबाट दश औला जोडेर नमस्कार भन्ने, बाहिर कतै जाँदा लगाएको कपडा घर पुगेपछि फुकालेर अर्का लगाउने, दिशा–पिसाब गर्दा लगाएका कपडासँग खाना नखाने, राती सुत्ताखेरी अलग्गै कपडा लगाउने र बिहान सबेरै उठेर नुहाई एकाग्र भएर जपतप गरी अर्का कपडा फेर्ने । पूजापाठ, धूपधुँवार गर्ने, भगवानको नाममा शंख बजाउने, सकेसम्म घरभन्दा बाहिर कसैकोमा नबस्ने, नखाने, शरीरका अधिकांश भाग छोप्ने खालका कपडा लगाउने आदि क्रियाकलाप ग¥यो भने त खिस्सी गरिहाल्छन् । त्यसैले यस्ता पुराना ढर्रा कहाँ गर्न सकिन्छ भन्ने भयो । जसले यी कुरा गर्दछ त्यो सानो मान्छे हुने र जसले संस्कारी कुरा गर्दैन ऊ ठूलो मान्छे हुने भन्ने भावनाको विकास हुँदै गयो । यसो हुनुमा हाम्रो पूर्वीय संस्कारलाई आत्मसात् गर्नुपर्छ भन्नेहरुले पनि यस्तो संस्कारलाई विज्ञानसँग नजोडी खाली परम्परा र पुरातन संस्कारसँग मात्रै केन्द्रित गर्नाले पनि मान्छेहरुको त्यस्तो संस्कारप्रति अरुचि बढ्दै गएको हुनुपर्छ ।
नमस्कार गरेर मात्रै स्वागत सम्मान पुग्दैन भनेर हात मिलाउने मात्रै कहाँ हो र झ्याप्प अँगालो हाल्ने, अझै नजिकको रहेछ भनेत हामीकहाँ तिर त अझै चलेको छैन कहीँ कतै तिर त किसै खानु पर्ने यति गरेपछि सभ्य नागरिक भइन्छ भन्ने संस्कारको विकास हुँदै गयो । ताजा खानेकुरालाई भन्दा फ्रिजिङ गरेको खानेकुरामा जोड दिने, माशुबिनाको खानालाई खाना नै नभन्ने । एकदिन एउटा कार्यक्रममा जाँदा खानाको व्यवस्था गर्नेले दुध, दही, मसिना लोकल चामलको भात र लोकल अर्गानिक दाल, दुई तीन थरी तरकारी बनाएको रहेछ । हामीले त मीठो मानी मानी खायौं, एकजना साथी दिनभरी ठुस्स परेको देखें अनि आज तिम्रो मुड फ्रेस छैनन नि भनेर सोधेको उसले बिहानको खाना प्रति असन्तुष्टि जनायो । होइन, बिहानको खाना त ठिकै थियो, साह्रै मीठो थियो, विचरा कति दुःख गरेर थरी थरी आइटम बनाएको पनि थियो भन्ने लाग्यो, यसो बुझ्दै जाँदा त त्यसमा माशु नभएकोले त्यो साथी ठुस्स परेको रहेछ । हाम्रो आहार विहार यसरी रुपान्तरण हुँदै गयो ।
कोरोना भाइरसका कारण अहिले फेरी मानिसले त्यही पूर्वीय संस्कृतिलाई अवलम्बन गर्न थालेका छन् । अरु कसैले पकाएको, छोएको खानेकुरा खाने त कहाँ हो कहाँ कोही कसैसँग छोइनै चाहन्न । कसैले कसैलाई देख्यो भने ४, ५ मिटर टाढैबाट नस्कार भन्छन् शरीरको जति धेरै भाग बाहिरै देखाएर कपडा लगायो उति सभ्य भइन्छ भन्नेहरुले पनि शरीरको अन्य भागको त कुरै छाडौं, हात छोप्नलाई पञ्जा र मुख समेत नदेखाउनलाई माक्स लगाउँछन् । कहीं कतै गएर आएभने ती कपडा फेरेर, हातखुट्टा, मुख राम्रोसँग साबुन पानीले मिचिमिची धोइवरी अर्को कपडा लगाएर मात्र भित्र पस्छन् । होटल रेष्टुरेण्टतिर खाना खानेहरु पनि एक्लै भए पनि घरमै आफै पकाएर खान्छन् । यो भाइरसलाई बाहिरबाट फ्याटको लेयरले कभर गरेर राख्ने र यिनीहरु ठूलो संख्यामा एकीकृत हुँदै जाँदा बढि सक्रिय भई मानिसलाई असर गर्ने भएको हुनाले तिनीहरुलाई एक अर्काबाट विच्छेद गराउन अस्ती मोदीले भारतका सबै जनतालाई आ–आफ्नो घरमा दीप प्रज्वलन गर्न लगाए । किनकी तापले फ्याट पग्लिन्छ र ती भाइरस एक आपसमा एकीकृत हुन नपाई विच्छेद हुन्छन् भनेर होला ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरस (COVID-19) कुनै जीवित चिज होइन, तर प्रोटिन अणु (डिएनए) हो, जसलाई बोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्धारा अवशोषित गर्दा तिनीहरुको अनुवांशिक कण परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरु आक्रामक र प्रशस्त कोषिकाहरुमा रुपान्तरण गर्छ । भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट) को बाहिरी तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेट नै यसको उत्तम उपचार हो, किनकी फोमले फ्याटलाई काट्छ । त्यसैले साबुन पानीले हात धुँदा करिब २० सेकेण्ड वा सो भन्दा बढि समय लगाएर हात रगड्दा धेरै फोम पैदा गर्नुपर्दछ । फोम बढि भएपछि साबुनमा रहेको रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटिन अणु एकीकृत नभई फैलिन्छन् र आफैमा विच्छेद भई क्रियाशील रहन सक्दैनन् । त्यसैगरी हामीलाई थाहा छ तातोले बोसो (फ्याट पग्लिन्छ) त्यसैले हात खुट्टा धुँदा तातोपानीले धुन सके झनै राम्रो हुन्छ ।
त्यही भएर होला पहिला पहिला घिऊ हालेर पकाएको भात खाँदा वा माशु खाँदा तातो पानी वा खरानी पानीले हात हुन्थे । कपडा धुँदा पनि खरानी पानीमा पकाई पकाई धुने गर्दछ । होइन कोरोना भाइरस पछिको हाम्रो दिनचर्या हेर्दा त पूर्वीय संस्कारलाई एकपटक सम्झायो फेरी । मार्बल विच्छाएको चौतारोमा २ मिटरभन्दा फराकिलो सामाजिक दुरी कायम गरी बसेर यति कुरा भनेपछि लकडाउनका बेला बाहिर किन निस्केको भनेर पुलिसले समात्ला फेरी, मै मात्र बोलिरहें तपाईले मुखै उप्काउनु भएन लौ हिँडे भन्दै ऊ गयो, अनी म पनि कोठातिर लागें ।