पर्बत- पर्वतको महाशिला गाउँपालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रममा सहभागी रहेका कृषकहरुलाई झण्डै १७ लाख मूल्य बराबरका कृषि सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
सामूहिक रुपमा सुन्तला उत्पादन गर्न लागेका महाशिला ५ का किसानलाई कृषि ज्ञान केन्द्रले दिएको अनुदानबाट विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । कृषकहरूकै सक्रियतामा दुक्तान ढाँडखर्क बगालथर सुन्तला समूह गठन गरेर सामूहिक रूपमा सुन्तला उत्पादनको काम भइरहेको र सोही समूहमा रहेका ६५ जना कृषकहरुको लागि सामग्रीहरु वितरण गरिएको हो । किसानलाई आवश्यक पर्ने सामग्रीहरू हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुन्तला कार्यक्रमलाई सजिलो हुने गरी सुन्तला गोडमेल तथा अन्य नगदे बाली लगाउनको लागि ६ ओटा मिनी टिलर, हाँगा काँटछाँटका लागि करौँती, कैँची, बेर्ना सार्न खाडल खन्ने मसिन, निलोतुथो, चुना, कम्पोस्ट मल, पन्जा, भ¥याङ लगायत सामग्रीहरू वितरण गरिएको छ ।
महाशिलाका कृषकहरूले घरमा आफुले खानको लागि सुन्तला उत्पादन गर्दै आएको भए पनि व्यावसायिक रूपमा भने सुन्तला खेती गरेका थिएनन् । तर गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर समूह समेत निर्माण गरिएपछि सुन्तला खेतीमा आकर्षित हुने कृषकहरूको संख्या बढ्दै गएको छ ।