पर्वत लगायत १३ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै - News site from Nepal

काठमाण्डौ – हात्तीपाइले रोगको जोखिम रहेका १३ वटा जिल्लामा शनिबारदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाईँदैछ । धनकुटा, झापा, मोरङ, बारा, लमजुङ्ग, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारदेखि औषधि खुवाउन थालेपनि जनसंख्या धेरै भएका जिल्लामा धेरै समय लाग्ने र थोरै जनसंख्या भएका जिल्लामा छिटै खुवाई सकिने सरकारले जनाएको छ ।

गएको वर्षदेखि पालिकाहरुले हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालेका हुन् । मन्त्रालयकाअनुसार शनिबार विभिन्न ठाउँमा बुथ राखेर औषधि खुवाइनेछ भने आइतबारदेखि स्वास्थ्यकर्मी घरघरमा जानेछन् ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा अरु रोग लागेर सिकिस्त भएका बिरामी बाहेक सबैले औषधि खान मिल्ने तर खाली पेटमा भने खान नहुने डाक्टरले बताएका छन् ।

शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा औषधि खाएपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने र पेट दुख्ने भए पनि केही समयमा निकाे हुने  र  यदि नभए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न डाक्टरले सुझाव दिएका छन् ।

औषधि खाएपछि सुरुमा केही नकारात्मक लक्षण देखिने भएकाले धेरैले डराएर औषधि नखाने गरेको पाइएको छ । एक प्रकारको मसिनो जुकाजस्तै देखिने परजीवीले गराउने यो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ ।

यो परजीवी मानिसको शरीरमा प्रवेश गरेको केही वर्षपछि मात्रै लक्षण देखिने गर्छ । हात्तीपाइले रोग लागेपछि खुट्टा असामान्य रुपमा सुन्निएर मानिस अपाङ्ग हुने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!