
पर्वत- गृहसचिब महेश्वर न्यौपानेले कोरोना भाईरसको माहामारी बढ्दो अवस्थामा रहेकाले जिल्लास्तरमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।
शुक्रवार सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दी जिल्लाका सुरक्षा प्रमुखहरुसँगको छलफलमा उहाँले पहिला आफु सुरक्षित हुने र नागरिकहरुको सुरक्षामा तैनाथी रहन निर्देशन दिनुभएको हो । सँधैभरी बन्द र लकडाउन गरेर साध्य नहुने बताउँदै नागरिहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउनका लागि सुरक्षा प्रमुखहरुले आ-आफ्नो जिल्लामा आवश्यक कार्ययोजना बनाएर लागु गर्न समेत उहाँको निर्देशन रहेको छ ।
गृह सचिब न्यौपानेले आफ्नो जिल्लाको परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन तीनवटै जिल्लाका सुरक्षा प्रमुखहरुलाई आग्रह समेत गर्नुभएको छ । न्यौपानेले विकास निर्माणका कामहरुलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाको प्रवन्ध गर्न निर्देशन समेत दिनुभएको छ । ‘कोभीड-१९ का कारणले लामो समयदेखि प्रभावित विकास निर्माणलाई अब द्रुत गतिमा अघि बढाउनु पर्दछ’ उहाँले भन्नुभयो-‘त्यसका लागि जिल्लामा संचालित राष्ट्रिय गौरबका र अन्य महत्वपुणर् योजनाहरुमा विषेश प्राथमिकता दिएर काम गर्नुहोस ।’ गृहसचिब न्यौपानेको भनाई उदृत गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गृहसचिब न्यौपानेले जिल्लामा चालु आर्थिक वर्षमा भएका विपद सम्वन्धि घटनाका बारेमा समेत चासो राख्नुभएको छ । उहाँले विपदमा परेर जनधन गुमाएकाहरुलाई आवश्यक राहत र उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो । जिल्लाका जुनसुकै ठाउँमा विपद आईलागेमा पनि छिटो छरितो पुग्न सकिनेगरी आवश्यक राहत र उद्धारका सामाग्रीहरु तयार गर्न पनि उहाँको आग्रह छ ।
कोरोना भाईरसका कारण लामो समयदेखि क्षेत्रीय सुरक्षा गोष्ठि हुन नसकेको बेला गृहसचिब न्यौपानेले जिल्लास्तरमै आएर सुरक्षा प्रमुखसँग छलफल गर्नुभएको हो ।
सो अवसरमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा, विकास निर्माण र कोभिड-१९को असर र व्यवस्थापनका बारेमा छुट्टाछ्ट्टै व्रिफिङ गर्नुभएको थियो ।