किन मोबाइल उठाउँदैनौं नभन न यार ! - News site from Nepal
किन मोबाइल उठाउँदैनौं नभन न यार !

किशोर सापकोटा

बिहान उठेकै थिइन, मोबाइलमा एक तमासले घण्टी बज्यो र उठ्न बाध्य बनायो । यसो हेरें चितपरिचित साथीको रहेछ, हेलो के छ तिम्रो खबर ? मात्र के भन्न पाएको थिएँ । शुरु भयो उसको इति वृतान्त मोबाइल भाषण, उ सोधिरहेको छ– के छ यार हाल खबर ? अनि लकडाउनमा दिन कसरी वितिरहेको छ ? घर तिर हो कि पोखरा ? आजभोली अफिस त जानु पर्दैन नि ? अनि राजनीतिक चहलपहल कोरोनाले गर्दा खासै छैन होला के रे ? राहात बाड्न हिँडेका त छैनौं नि ? यी नेताहरुले के गरेका हुन् यार यस्तो बेलामा पनि ? होइन कहिले काँही भेट्दा तिम्ले भन्देनौं ? बर्वाद नै पार्ने भए यार ?

म चुपचाप सुनिरहेको छु, तर उसको प्रश्न गर्ने धोका अझै सकिएको छैन । यसो मोबाइलमा समय हेरें १२ मिनेट भएको रहेछ । ऊ अझै हौंसिएर प्रश्न सोधिरहेको छ– होइन यो लकडाउन फेरी थप्यो अरे होई ? यसरी पटक पटक थप्नु भन्दा त एकैचोटी १ महिनालाई गरिदिए हुन्थ्यो नि बरु, होइन र ? किन एक–एक हप्ता गरेर थप्यो होला ? अनि तिम्ले बिस्र्यौं कि बिस्र्या छैनौं पोखरीमा पौडिएको, पिकनिक खान जाँदा खोलामा डुबुल्की मारेको, हापछुट्टीमा अर्को विद्यालयका विद्यार्थीसँग लड्न जाँदा हेडसरले घुँडा टेकाएर ३ चोटी गिराउनलाई फन्को लगाएको । मैले त बिर्सनै सक्दिन यार यी बाल्यकालका घटना । अनि अँ साँच्चै के छ नि मेडम र बाबुहरुको हालखबर ? दाई, भाइहरुको खबर के छ ? दिदी भिनाजु देखि फुपु पुसाजुसम्म, साला जेठानदेखि ज्वाई भिनाजुसम्म, वल्तीर, पल्तीर तल्तीर मात्थिर सबैको हालखबर ऊ नबिराइकन सोधिरहेको छ । म रेडिमेट जस्तो अँ, हो, ठिकै छ, बिर्सेको छैन भनेर जवाफ दिइरहेको थिएँ । कुराकानी कति लामो भएछ भनेर यसो मोबाइलतिर हेरें ४० मिनेट भएको रहेछ ।

अँ यार, त्यो अमेरिकामा धेरै मान्छे मर्ने भए, हुनत त्यो ट्रम्प नै त्यस्तै छ, चीनलाई कस्तो बिल्लाएको थियो चाइनीज भाइरस भनेर । अहिले आफूलाई दुःख पर्दा अरुलाई हार गुहार गरिरहेको छ । चीनले चाँही ठिक गर्यो है ? कस्तो कन्ट्रोल गर्न सकेको त्यसले हेर त । चीनलाई मान्नै पर्छ यार ! अनि के यो उत्तर कोरियामा त छँदै छैन अरे नि ? त्यहाँ कसरी गएन हँ ? मैले त के हो ? के हो ? कुरै बुझ्दीन यार । के हो ? तिमी त बोल्दै बोल्दैनौं बोल न यार ! बोलेकै त छु नि, मैले मोबाइल अली टाढा लएर हेलो… हेलो… भनें अनी कस्तो टावरले काम नगरेको यार ! भन्दै साथीले राखि पो हाल्छ कि भनेर प्रयास गरें । तिमी नाटक नगर न यार ! अहिले बिहानै एकछिन बोलौं भनेको तिमी नाटक गर्छौ । पैसा सकिए मेरो सकिन्छ, बोलौं न यार ! एकछिन । हुन त तिमी ठूलो मान्छे हामीसित कुरा गर्न पनि अफ्ठ्यारो मान्छौं आजभोली मैले बुझेको छु, भन्दै फत्फताउन थाल्यो, ऊ पटक्कै फोन राख्ने पक्षमा छैन । साह्रै मन मिल्ने साथी फोन काटिहाल्न पनि भएन । के गरौं ? के गरौं ? भइरहेको छ ।

अनि अब म आफै बोलेर कुरा छोट्याउनु पर्छ भन्ने सोचें र कुरा गर्न शुरु गरें– अँ भनन कहिले हो आउने ? कोरोनाले त्यहाँ त खासै समस्या पारेको छैन के रे है ? सुरक्षित हुनु है । अनि घरतिर भाउजु, बाबु नानी त ठिकै छन् नि ? आमा बुबासँग पनि त सम्पर्क भइरहेकै छ होला नि ? कमाई कस्तो छ ? हामी त यहाँ सुख्खा टाट जस्तै भइया छ यार ! ल, ल तिमीहरु कमाऊ, भोली चुनावमा उठिएछ भने सहयोग गरौला नि ? मैले एवं रीतले प्रश्न सोधिरहेको थिएँ र उसले प्रश्न अनुसारको जवाफ दिइरहेको थियो ।

यत्तिकैमा अगाडि ठूलो शरिर भएको एउटी महिला ठिङ्ग उभिएको देखें, अनुहार सबै मेरै बूढीसँग मिल्छ तर शरिर यति ठूलो कसरी ? यतिबेरसम्म फोनमै झुण्डिएको झुण्डिएै छ भनेर उनी रिसाएर फुलेकी होलिन, भन्ने ठानें र अब फोन काट्नु पर्छ भनेर ल अब अहिलेलाई राखौं, तिम्रो पैसा पनि धेरै नै खर्च भएहोला । अझै केही दिनलाई म पनि होम क्वारेण्टाइनमा नै छु । खासै बिजी पनि छैन, कुरा गर्दै गरौंला है मात्र के भनेको थिएँ, होइन उठ्ने होइन भन्दै घच्घचाइन, उनी भन्दै थिइन– पोखरा जाने भनेको ढिला भएन ? झल्यास्स भएँ, आँखा मिचें होइन कस्तो सपना देखेको ? हतार हतार उठेर तयार भएँ र पोखरातिर लागें ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari