गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु - News site from Nepal
गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

पर्वत : गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा थप चार जनाको मृत्यु भएको छ। योसँगै प्रदेशमा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ७० पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माका अनुसार मृत्यु भएकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ की ६६ वर्षीया महिला रहेकी छिन्। आइतबार बिहान करिब साढे पाँच बजे उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो। मंसिर १५ गते सङ्क्रमण पुष्टि भएकी ती महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

यस्तै लमजुङको बेंसीशहर नगरपालिका–११ की ४३ वर्षीया महिलाको पनि मृत्यु भएको छ। उनको पनि उपचार क्रममा शनिबार बिहान करिब साढे पाँच बजेको समयमा मणिपालमै मृत्यु भएको हो। ती महिलामा मंसिर ९ गते सङ्क्रमण पुष्टि भएको थियो। उनमा मधुमेह पनि थियो।

यसैगरी चरक मेमोरियल अस्पताल पोखरामा कास्कीको पोखरा महानगरपालिका–१७ का ३४ वर्षीय पुरुषको मृत्यु भएको छ। मिर्गौला रोग र उच्च रक्तचापबाट ग्रसित उनको शनिबार मृत्यु भएको हो। उनमा मंसिर सात गते सङ्क्रमणको पुष्टि भएको थियो।

पछिल्लो पटक पोखरा महानगरपालिका–१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको छ। मंसिर १५ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको आइतबार बिहान पौने ११ बजे उपचार क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। उनमा निमोनिया र मिर्गौलाको समस्या थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!