पर्वतका विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सुरु - News site from Nepal
पर्वतका विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सुरु

पर्वत – विद्यालयको नियमित पढाई कोभिड–१९ को महामारीले प्रभावित भएपछि पर्वतका सामुदायिक विद्यालयमा वैकल्पिक विधिबाट पढाई सञ्चालन गर्न थालिएको छ ।
जिल्लाको कुस्मा नगरपालिका–८ स्थित मंगलोदय माविले भर्चुअल कक्षा चलाउन थालेको छ ।
विद्यालय बन्द भएपछि कुश्माकै शिवालय माविले टोल शिक्षा कार्यक्रम सुरु गरेको छ । फलेवासको गहते अम्बोट आधारभूत विद्यालयले विगत दुई महिनादेखि टोल टोलमा पुगेर विद्यार्थीलाई पढाउँदै आएको छ ।
प्रअको बैठकबाट भएको निर्णय अनुसार फलेवासका टोल टोलमा सम्बन्धित ठाउँमा पुगेर गृहकार्य दिने र मनिटरिङ गर्ने काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो ।

त्यस्तै मोदी गाउँपालिकामा घुम्ती कक्षा सञ्चालन गरिएको छ । विद्यालय बन्द भएको अवस्थामा शैक्षिक सत्र खेर जान नदिन ९० दिने शैक्षिक सिकाई सामाग्री वितरण गरी स्वअध्ययन गर्न लगाएर सिक्ने र सिकाउने अभ्यास भइरहेको शिक्षा अधिकृत झकप्रसाद गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी जलजला गाउँपालिकाको लेकफाँट, शालिजा, बनौँ लगायतका वडामा विद्यार्थीका घरमै पुगेर शिक्षकले विद्यार्थीलाई पढाउन सुरु गरेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

त्यसतै बिहादी गाउँपालिकामा जेठ, असार र साउनमा टोल शिक्षा सञ्चालन गरेको भए पनि अहिले पछिल्लो समय पढाई रोकिएको गाउँ शिक्षा शाखाले जनाएको छ ।

पर्वतमा निजी विद्यालयले अनलाइन कक्षा निरन्तर रूपमा चलाउँदै आएको बताएका छन् । कुस्मा नगरपालिका–८ का अध्यक्ष राजकुमार क्षेत्रीले लकडाउनले समस्यामा परेका विद्यार्थीको शैक्षिक सत्र खेर जान नपाओस् भनेर भर्चुअल कक्षा चलाएको बताउनुभयो ।

लकडाउनका कारण पाँच महिनाभन्दा बढी समय विद्यालय बन्द हुँदा पढाई प्रभावित भएको र विद्यार्थीमा शिक्षा नकारात्मक असर परेको हुँदा विद्यालयले शिक्षक मार्फत पढाउने र विद्यार्थीले घरमै बसेर हेर्ने गरी कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो ।

पर्वत जिल्लामा अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको छैन । समुदायमा कोरोना नफैलिएको हुनाले विद्यालय सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

जिल्ला शिक्षा समन्वय इकाईले भने तत्काल कक्षा चलाउन नसकिने बताएको छ । शिक्षा समन्वय इकाई प्रमुख उद्धिमराज पौडेलले सरकारले देश भरी कक्षा सञ्चालन गर्ने निर्णय नगर्दासम्म जिल्लाले मात्रै निर्णय गरेर विद्यालय खोल्न नसक्ने बताउनुभयो ।
रेडियो नेपाल अनलाईनवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!