मोदी गाउँपालिकाद्धारा कोरोना संक्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक औषधी हस्तान्तरण - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भई अस्थायी कोरोना अस्पतालमा उपचाररत बिरामीहरुका लागि रोग प्रतिरोधात्मक आर्युवेदीक औषधीहरु हस्तान्तरण गरेको छ । पर्वतको सिसीएमसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रोटोकल अनुसारका औषधी हस्तान्तरण गरिएको हो ।
सोमवार एक कार्यक्रमका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई औषधीहरु हस्तान्तरण गर्नुभएको हो । मोदी गाउँपालिकाको आर्युवेदिक स्वास्थ्य शाखा मार्फत उपलव्ध भएका अस्वगंन्धा चुर्ण ६० प्याकेट, गुडुची चुर्ण ६५ प्याकेट, त्रिकुट चुर्ण ६५ प्याकेट, च्यावान्प्रास ६५ वटा र तुलसी चिया ६० वटा हस्तान्तरण गरिएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई इम्युनिटी पावर बढाउन उक्त औषधीहरुले महत्वपुर्ण भूमिका खेल्ने बताईएको ।
औषधी हस्तान्तरण गर्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले कोरोनाको औषधी पत्ता नलागिसकेको अवस्थामा आयुर्वेद औषधीनै महत्वपुर्ण हुने बताउँदै यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विस्वास व्यक्त गर्नुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले आर्युवेदिक औषधी सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै औषधीको उचित सदुपयोग गर्ने बताउनुभयो ।
पर्वतमा हालसम्म ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari