काँग्रेस नेता जोशीद्वारा पर्वतको कोरोना नियन्त्रण समन्वय समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ ।
नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले तीनसय थान सेनिटाईजर, ४५ सय थान मास्क र दुई सेट पिपिइ शनिबार एक कार्यक्रमका बीच प्रजिअ रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो । कुनैपनि राहत तथा सहयोग एकद्वार प्रणालीबाट वितरण गर्ने राज्यको नीति अनुरूप आफूले प्रमुख जिल्ला अधिकारी मार्फत कोरोना नियन्त्रण समन्वय समितिलाई वितरण गरेको नेता जोशीले जानकारी दिनुभयो ।

काँग्रेस नेता जोशीले कोभिड-१९ को महामारीबाट बच्ने र बचाउने दायित्व र जिम्मेवारी सबैको भएकोले शुरूदेखि नै आफूले यो अभियानमा रचनात्मक सुझाव सहित सहयोग गर्दै आएको वताउनु भयो । ‘हरेक महामारी र विपत्ति जिल्लाबासीका साझा समस्या हुन्, यी समस्याविरूद्ध हामी सबैको साझा दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले कोरोनाको नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले बनाउने हरेक रणनीतिक योजनामा आफ्नो पुरै सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।
काँग्रेस नेता जोशीले स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग गर्ने वतास ब्रदर पोखरा, हरिवोल भण्डारी अमेरिका, महेश श्रेष्ठ जापान र विद्यार्थी नेता केदार सुवेदी लगायतलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गरेर कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।
प्रजिअ रेग्मीले पर्वतमा कोरोना संक्रमितको संख्या बढ्ने संभावना रहेकोले आईसोलेशन थप गर्न आवश्यक रहेको भन्दै त्यसकालागि आवस्यक सहयोग गर्न नेता जोशीलाई अनुरोध समेत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतका डाक्टर भोजराज गौतमले समितिलाई प्राप्त स्वास्थ्य सामग्रीहरू आवस्यकता अनुसार सातै स्थानीय तहमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari