पर्वतको जलजलास्थित मोहनचोक–मल्लाज सडक कालोपत्रे सुरु - News site from Nepal
पर्वतको जलजलास्थित मोहनचोक–मल्लाज सडक कालोपत्रे सुरु
पर्वत : जलजला गाउँपालिका–४ मोहनचोक देखि मल्लाजको फट्केढुङ्गा जोड्ने सडक कालोपत्रे सुरु भएको छ ।

जलजला गाउँपालिकाले मोहनचोक देखि फट्केढुङ्गा जोड्ने सडक कालोपत्रे सुरु गरेको हो । सडक कालोपत्रे, ढलान र पर्खाल निर्माण गर्न गाउँपालिकाले माछापुच्छ्रे निर्माण सेवा संग एक करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

यो वर्षको बजेटबाट ३२० मिटर सडक कालोपत्रे र ३२० मिटर आरसिसी ढलान गर्न लागिएको गाउपालिकाका सब इञ्जिनियर जेपी चौधरीले जानकारी दिनुभयो । विभिन्न ठाउँमा सोलीङ, नाली र टेवा पर्खाल समेत निर्माण हुने उहाँले बताउनुभयो । ६.५ मिटर फराकीलो ढलान र कालोपत्रे हुने गाउपालिकाले जनाएको छ ।

बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फट्केढुङ्गा जोड्ने ४ किलोमिटर सडकलाई पहिलो चरणमा विस्तार गरेर सात मिटर फराकीलो बनाइएको छ । वि.स.२०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले २०७४ देखि स्तरोन्नति सुरु गरेको गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताउनुभयो ।

गत वर्ष बिनियोजन भएको ९९ लाख रुपैयाँ बजेटबाट खोलाको किनार र खेतको बिचमा रहेको २८३ मिटर सडक ढलान भएको थियो । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ । गत वर्ष ४५ मिटर पक्की पर्खाल र २०० थान ग्यावियन पर्खाल निर्माण भएको थियो ।

२०७४ मा बिनियोजन भएको ९० लाख रुपैयाँबाट उपभोक्ता समिति मार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको थियो । सोही वर्ष सल्लेरीको जंगलमा नयाँ ट्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दुरी छोट्याइएको छ ।

साढे तिन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकीलो बनाइसकिएको छ । मोहनचोक मल्लाज सडक दुई दशकदेखि सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।

धेरै वडालाई समेट्ने र पुरानो यस सडकलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेर क्रमागत योजनामा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो । पुरानो र महत्वपूर्ण भएकाले यो सडकलाई महत्व दिएको उहाँले बताउनुभयो ।

यो सडकबाट जलजला गाउँपालीकाको १, २, ३, ४ र ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँटका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

स्थानीयबासीलाई सहज रुपमा आवत जावतका साथै तरकारी, सुन्तला, दूध लगायत कृषि उपज निकासीमा सहज हुने फट्केढुङ्गाका इन्द्र मल्लले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!