पर्वत– मुलुकमा वर्षेनी प्राकृतिक विपत्तिका कारण हजारौ मानिसको ज्यान र अरबौको नोक्सानी हुने गरेको छ । विपदवाट हुने जोखिम न्यूनिकरणका लागि पूर्व तयारी नहुँदा बढि जोखिम हुने गरेको पाईएको छ । पर्वतको कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोखिम न्यूनिकरण र व्यवस्थापन विषयमा बुधवार आयोजना गरिएको अन्तरक्रियामा आवश्यक पूर्व तयारी नहुँदा हरेक खालका विपदबाट बढि क्षति हुने गरेको निष्कर्ष निस्किएको हो ।
अन्तर्राष्ट्रिय मेडिकल कप्र्सको सहयोगमा हिमालयन कन्जरभेसन गु्रप नेपालद्धारा आयोजित अन्तरक्रियामा प्राकृतिक प्रकोप सँगै मानव सिर्जित कारणहरुवाट पनि विपदहरु आउने गरेकोले त्यसमा मानविय सावधानी अपनाउनुपर्नेमा जोड दिईएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले वाढी, पहिरो, चट्याङ, भुकम्प, महामारी, असिनापानी, खडेरी, आधुहुरी र सडक दुर्घटना लगायतले पनि विपद निम्तिने बताउँदै यसका लागि हरेक तहमा पूर्व तयारी हुनु अवाश्यक रहेको बताउनुभयो । उहाँले पर्वत जिल्ला पनि विभिन्न किसीमका विपदको डरलाग्दो अवस्थामा रहेको बताउँदै यस क्षेत्रमा हरेक नागरिक तहवाट सावधानी आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले विपद न्यूनिकरणका लागि आवश्यक कार्यायोजना नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भवन निर्माण आचारसंहिताको पुनः पालना गर्न, समुदाय स्तरमा विपद पूर्व तयारी अभियान संचालन गर्ने तथा बहुप्रकोपिय विपद नक्सा तयार गरेर योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भुगर्वविद् तथा विपद विज्ञ डा. रन्जन कुमार दाहालले पर्वत जिल्ला र कुश्मा नगरपालिकामा सम्भावित जोखिममा विषयमा जानकारी गराउनुभएको थियो । उहाँले पर्वत लगायत आसपासको क्षेत्र भुकम्पीय जोखिममा रहेको बताउँदै जुनसुकै बेला पनि भुकम्प जान सक्ने बताउँदै सजग र पूर्व सावधानी र तयारी आवश्यक पर्ने बताउनुभयो । उहाँले पर्वतदेखि म्याग्दीको दानासम्म अलिकती जोखिम क्षेत्र रहेको बताउनुभयो । उहाँले कुश्माबजारको माथिल्लो भागमा रहेको गजौटै खोलाको पहिरो कुश्माका लागि अभिषाप रहेको बताउँदै उक्त खोलाको सहज निकास बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कुश्माबजार आफै चुनढुंगे ग्रेगर चट्टान माथि रहेको बताउँदै संरचनाहरु निर्माण गर्दा प्राविधिकहरुको सल्लाहा अनुसार बनाउन समेत आग्रह गर्दै एकीकृत शहरी विकासको मापदण्ड अनुसार बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जे पर्ला त्यहि टर्ला भन्ने मानसिकताको विकासका कारण हामीले हरेक विपदमा धेरै क्षति व्यहोर्नु परेको बताउँदै विपद् न्यूनिकरणका लागि आवश्यक नीति र योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कुश्मा नगरपालिकाले पनि विपद व्यवस्थापन कोष खडा गरेर रकम जम्मा गर्दै आएको बताउँदै आगामी दिनमा एकीकृत विपद नक्सा समेत बनाएर काम थाल्ने बताउनुभयो ।
कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले विपद प्राकृति र मानविय दुवै कारणले सिर्जना हुन सक्ने बताउँदै यसको दिर्घकालीन योजना बनाएर अघि बढुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि नगरकार्यपालिका बाट आवश्यक निर्णय गरेर अघि बढुनुपर्ने अवाश्यकता औल्याउँनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुको सहभािगता रहेको थियो ।
कुश्माको विपद जोखिम न्यूनिकणका लागि हिमालय कन्जर्भेसन गु्रप नेपालले अन्तराष्ट्रिय मेडिकल कप्र्सको सहयोगमा कुश्माको सम्भावीत जोखिमबारे सन्दर्भ सामाग्री समेत प्रकाशन गरिएको छ ।