पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुस्माका बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको झण्डै ३ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
कुश्मा नगरपालिका वडा नं. ७ खरेहा र गोदामका बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने भाँडाहरु नियन्त्रणमा लिएको थियो । खरेहा र गोदामका स्थानीयले अवैध रुपमा उत्पादन हुँदै आएको मदिराका कारण दैनिकजसो घरमा झगडा हुनुका साथै घरेलु हिँसाहरु बढेको, आर्थिक समस्याहरु बढेको, सेवनकर्ताहरुमा शारीरिक तथा मानसिक समस्याहरु देखिएको लगायतका गुनासा गर्दै अवैध मदीरा नियन्त्रणमा लिएर नष्ट गर्न अनुरोध गरेपछि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर अवैध मदीरा नियन्त्रणको अभियान चलाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अबैध रुपमा उत्पादन गरिने घरेलु मदीराका कारण समाजमा बिभिन्न अपराधहरु हुने गरेको बताउँदै यसको नियन्त्रणका लागि जनप्रतिनिधि, समाजसेवी, स्थानीय नागरिक लगायतसँग सहकार्य गरेर नियन्त्रणको काम भइरहेको जानकारी दिए ।
प्रहरी निरीक्षक मनिष श्रेष्ठले केही दिन अगाडि पनि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले झण्डै ४५ सय लिटर घरेलु मदीरा नियन्त्रणमा लिएर नष्ट गरेको बताउँदै मदीरा उत्पादकहरुले आम्दानीका अन्य स्रोतलाई अवलम्बन गर्ने हो भने राम्रो काम गरेर पनि परिवारका आवश्यकताहरु पूरा गर्न सकिने बताए ।
यस्तै, प्रहरी नायव निरीक्षक मोहन खड्काले प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत संचालन गरिरहेका बिभिन्न कार्यक्रमहरुले समाजमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मदीरा सहित जुवातास नियन्त्रणमा पनि पर्वत प्रहरी लागिरहेको जानकारी लिए ।
मदिरा नष्ट गर्ने कार्यक्रममा प्रहरी नायव निरीक्षक पूर्णिमा थापा, कुस्मा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रुद्र गिरी, समाजसेवी मानकुमारी गिरी, पत्रकार लगायतको पनि सहभागिता रहेको थियो ।