पर्वतको फलामखानीमा संकलित ५ लाख रुपैया मृगौला पिडितलाई हस्तान्तरण - News site from Nepal

लक्ष्मण विश्वकर्मा
पर्वत- मृगौला पीडित सुनसरी सुनारको उपचारका लागि पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा संकलन भएको ५ लाख १ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमका विच सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियान्त लेककाजी गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
फलामखानीमा वडा अध्यक्ष राम बहादुर सुनारको संयोजकत्वमा टोल समितिका अध्यक्ष र विभिन्न सरोकारवालाहरुले सुनसरी सुनार बचाउ अभियान सहयोग संकलन समिति गठन गरेर उक्त रकम संकलन गरिएको थियो ।
महाशिला गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल, जिल्ला समन्वय समिति पर्वतका सदस्य बिष्णु राम बि.क, वडा नं.५ का वडा अध्यक्ष जीवन उच्चै ठकुरी, वडा नं. १ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुषाल लगायत समिति सदस्य, जनप्रतिनिधि टोल समिति अध्यक्ष लगाएतको रोहबरमा हस्तान्तरण गरिएको हो ।
पर्वतको महाशिला गाउँपालिका वडा नं. १ अर्गाउँदी निवासी सुनसरी सुनारको दुबै मृगौला फेल भएर उपचारमा आर्थिक समस्या भएपछि उपचारमा सहजताका लागि सहयोग संकलन अभियान सुरु गरिएको थियो ।
गाउँघर,स्वदेश तथा विदेशमा भएका विभिन्न सहयोगी व्यक्तिहरुबाट हालसम्म २२ लाख भन्दा बढी रकम संकलन भएको सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियान्त लेखकाजी गुरुङले जानकारी दिनुभयो ।
केही व्यक्तिहरुले संकलन गरेको रकम आफुसामु प्राप्त भैनसकेको गुरुङले बताउनुभएको छ । अब आर्थिक अभावमा सुनारको उपचार नरोकिने उहाँले बताउनुभयो ।
केही समय अगाडि पर्वतको महाशिला ६ फलामखानी निवासी मृगौला पीडितका मामाका छोरा तथा पत्रकार लक्ष्मण बिश्वकर्माको पहलमा स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलित ३ लाख ५८ हजार रुपैयाँ मृगौला पीडितको घरमै पुगेर बिश्वकर्माले हस्तान्तरण गर्नुभएको थियोे ।
विभिन्न सहयोगी अभियान्तहरुबाट संकलन भएको सबै रकम मृगौला पीडितको श्रीमान जस बहादुर सुनारको खातामा जम्मा गरेको गुरुङले बताउनुभयो ।
मृगौला पीडित सुनारले अहिले बुटवलमा रहेको गौतम बुद्ध मुटु अस्पातलमा मृगौलाको डायलेसिस गराइरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!