पर्वतको महाशिलामा उत्पादन महाअभियान - News site from Nepal
पर्वतको महाशिलामा उत्पादन महाअभियान

पर्वत — बाँदर नियन्त्रण, एक घर एक टनेल, सुत्केरी उपहार लगायतका लोकप्रिय कार्यक्रम ल्याएको महाशिला गाउँपालिकाले यो वर्ष अर्को नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर तथा व्यवसायीकरणमा उन्मुख गराउन अधिक किसान सहभागी गराएर उत्पादन महाअभियान कार्यक्रम सुरु गरेको हो ।

गाउँ कार्यपालिकाले निर्णय गरेर पालिकाभरका इच्छुक किसानलाई कृषि, पशुपालन, फलफूल लगायतको उत्पादन बढाउन महाअभियान कार्यक्रममा सहभागी बनाएको छ । गाउँपालिकाले त्यसका लागि उत्पादनमा अनुदानसमेत घोषणा गरेको छ । गाउँपालिकाले दूधमा प्रतिलिटर १०, तरकारी तथा फलफूलमा प्रतिकिलो ५ र मासुमा प्रतिकिलो २५ रुपैयाँ अनुदान दिने भएको हो । त्यसका लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । अनुदानका लागि किसानले कुनै पनि प्रस्ताव पेस गर्नुपर्दैन । उत्पादन गरे मात्र पुग्छ । पालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको एक घर एक टनेल कार्यक्रम प्रभावकारी रुपमा अघि बढेपछि त्यसलाई थप व्यावसायिक बनाउन उत्पादन महाअभियान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष जीवनविक्रम उचै ठकुरीले बताए । ‘टनेल कार्यक्रममा सहभागी भएका किसान, उद्यमी समूह र सहकारीलाई छानेर महाअभियान सञ्चालन गर्दै छौं,’ उनले भने ।

गाउँपालिकाका २२ सयमध्ये १२ सयभन्दा बढी घरले टनेलभित्र तरकारी लगाउन सुरु गरिसकेको उनले बताए । महाअभियानमा सहभागी किसानलाई अनुदान दिन कार्यविधि समेत बनिसकेको छ । ‘पब्लिक–प्राइभेट पार्टनरसिप मोडेलबाट नगई समृद्धि सम्भव नभएकोले यस्तो अवधारणा ल्याएका हौं,’ गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भने ।

अनुदान कार्यविधिमा उत्पादन महाअभियान कार्यक्रममा सहभागी हुन कम्तीमा ३ रोपनीमा तरकारी खेती गर्नुपर्ने उल्लेख छ । दूधालु पशुपालन भए दैनिक १० लिटर उत्पादन गर्नुपर्ने, मासुसम्बन्धी भए वार्षिक ५ सय किलोसम्म मासु उत्पादन गर्नुपर्ने प्रावधान छ । अदुवा–बेसारलगायत नगदेबालीका लागि ५ रोपनी जग्गा कायम गरिएको छ । सुन्तलालगायतका फलफूल सय बोट, माहुरी १० घार, बाख्रापालन भए माउबाख्रा १० वटा हुनुपर्ने व्यवस्था छ ।

किसानले ३ वटा टनेलमा तरकारी लगाएमा अनुदान पाउँछ । ‘किसानलाई सूचीकृत गरेर परिचयपत्र र तालिम दिन्छौं ।,’ ठकुरीले भने । उत्पादित तरकारी, दूध, मासु, फलफूल तथा नगदेबालीको संकलन र बजारीकरण समेत सहकारीमार्फत गाउँपालिकाले गर्ने उनले बताए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!