
पर्वत- पर्वतको कुश्मा नगरपालिकाले अपांगता भएकाहरलाई सहायता सामाग्री वितरण गरेको छ ।
अपांगता भएकाहरुको २९ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पुणर् अपाङ्गता भएका र आंशिक अपाङ्गता भएकाहरुलाई सहायता सामाग्री वितरण गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ७ का बिनोद नेपाली, कुश्मा नगरपालिका ११ का साधना सुवेदी र शान्ति सुवेदी, कुश्मा नगरपालिका २ का मानबहादुर क्षेत्रीलाई ह्वीलचियर र कुश्मा नगरपालिका वडा नं. ३ का चन्द्रबहादुर क्षेत्रीलाई वैशाखी वितरण गरिएको हो । त्यस्तै नेपाल अपाङ उत्थान समाज पर्वतले अर्का एक युवालाई दुईवटा लठ्ठी वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले अपाङ्गता भएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझैपनि परिवर्तन हुन नसक्नु दुःखद पक्ष भएको बताउँदै राज्यले सवै तहका अपाङ्गता भएका नागरिकहरुको संरक्षणको दायित्व लिनुपर्ने बताउनुभयो । अपाङ्गता भएका नागरिहरुको अधिकारको पुहुँच बृद्धि गर्न स्थानीय सरकारहरु सक्रिय हुनुपर्ने बताउँदै नगरपालिकाले पनि अपाङ्गताको क्षेत्रमा विभिन्न कार्यक्रम संचालन तथा सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शिवप्रसाद पौडेल, कुश्मा नगरपालिकाका निमित्त प्रशासकिय अधिृकत विष्णुप्रसाद तिवारी, अपांग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्मा, अपाङ्गता भएका परिबारका अभिभावक रमण सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कुश्मा नगरपालिका सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्मा र संचालन चेतकुमारी शर्माले गर्नुभएको थियो । कार्यक्रमको समन्वय अपांग उत्थान समाज पर्वतले गरेको थियो ।