सीडीओले क्वारेन्टाइनलाई जेल देखे - News site from Nepal
सीडीओले क्वारेन्टाइनलाई जेल देखे

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’
सीडीओ कुरुम्बाङ राति ९ बजे डुडुवा गाउँपालिका–४ स्थित आधारभूत विद्यालय शाहपुर्वा पुगे । उनले पाएको खबर सत्य सावित भयो । आरडीटी पोजिटिभ आएका २० र पीसीआर पोजिटिभ भएका ८ व्यक्तिलाई एउटै कोठामा राखिएको थियो । उनले यसरी राख्नु गम्भीर त्रुटि भएको बताए । क्वारेन्टाइन व्यवस्थापन गर्ने टोलीलाई अलग स्थानमा व्यवस्थापन गर्र्न निर्देशन दिएर उनी फर्किए ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो ।
उनी सोही दिन जिल्लाको कोरोना रेड जोन नरैनापुर घुमेर फर्किएका थिए । विद्युत् सेवासमेत नपुगेको नरैनापुरका १५ वटा क्वारेन्टाइनको अवस्था त झन् बिजोग थियो । उनले भोलिपल्ट स्थानीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘यहाँका क्वारेन्टाइन मापदण्डअनुरूप छैनन् । त्यो जेलजस्ता छन् ।’

उनले खानेबस्ने व्यवस्था राम्रो नभएको प्रतिक्रिया दिएका थिए । उनी अझै भन्छन्, ‘मापदण्ड त के पुग्थ्यो र कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ । जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएको छैन ।’

‘मापदण्ड त के पुग्थ्यो र, कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ ।’ रामबहादुर कुरुम्बाङ, प्रमुख जिल्ला अधिकारी, बाँके
जिल्लामा सबैभन्दा धेरै संक्रमित नरैनापुर गाउँपालिकामा छन् । नरैनापुर देशमै सबैभन्दा बढी संक्रमित भएको स्थानीय तह हो । १ सय १८ जना संक्रमित (एक जनाको मृत्यु)मध्ये वडा नम्बर ५ का मात्र झन्डै आधा छन् । त्यसमा पनि भोजभगवानपुरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेकामध्ये झन्डै आधा अर्थात् २८ जनामा संक्रमण पुष्टि भयो । सोही क्वारेन्टाइनमा बसेका २५ वर्षका युवाको कोरोनाबाट ज्यान गयो । नरैनापुरमा एक प्लाटुन सेनाले अस्थायी क्याम्प बनाएर क्वारेन्टाइनको सुरक्षा गरिरहेको छ । डुडुवाको शाहपुर्वाको विद्यालयलाई आइसोलेसन बनाइएको छ ।

प्रेस संगठन बाँकेले जेठ १६ गते अपराह्न १ बजे सीडीओ कुरुम्बाङसँग भर्र्चुअल प्रेस मिट राखेको थियो । त्यही बेला राप्तीसोनारी–८ को क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोरोना रिपोर्ट नआउँदै घर पठाएको खबर आयो । उनी पत्रकार सम्मेलन छाडेर त्यतै लागे । राप्तीसोनारी–८ शमशेरगन्जस्थित शिवशक्ति माविको क्वारेन्टाइनमा रहेका ३० जनालाई अपराह्न ४ बजे बिदाइ कार्यक्रम गरेर घर पठाइयो । त्यही साँझ ७ बजेतिर क्वारेन्टाइनमा बसेका सात जनाको रिपोर्ट पोजिटिभ आयो ।

‘हामीलाई रिपोर्ट नेगेटिभ आयो भन्ने खबर फोनमा आयो । खासमा त्यो क्वारेन्टाइनको आएकै रहेनछ’, गाउँपालिका अध्यक्ष लाहुराम थारू भन्छन्, ‘उनीहरू घर पुगेपछि फेरि रातारात फिर्ता ल्याएर आइसोलेसन बनाइयो ।’ त्यही विद्यालयमा दक्षिणतिरको भवनमा आइसोलेसन र उत्तरतिरको भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ ।

नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका यी दृष्टान्तले बाँकेका स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापन कसरी भइरहेको छ भनेर स्पष्ट चित्र देखाउँछन् । कोरोना नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइन नै कोरोना सार्ने अखडाजस्ता भएका छन् ।

‘भारतबाट आएर घरपरिवारमा कोरोना सार्ने खतरा थियो । त्यसलाई जोगाएका छौं’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मि श्रा भन्छन् । घर, परिवार र समुदाय जोगाउने नाममा अव्यवस्थित क्वारेन्टाइनका कारण अरूलाई जोखिम भइरहेको छ ।

अधिवक्ताद्वय रामकुमार दीक्षित र विजयकुमार शर्माले नरैनापुरका १३ वटा क्वारेन्टाइनलाई आधार बनाएर उच्च अदालत तुलसीपुर नेपालगन्जमा रिट दायर गरे । क्वारेन्टाइनमा मापदण्डअनुरूप खाने, बस्ने, शौचालयसमेतको व्यवस्था नहुनुका साथै भौतिक दूरी पालन नगरिएको, क्वारेन्टाइनमा रहेका व्यक्तिहरू जन्तीजस्तै बस्न बाध्य भएकाले क्वारेन्टाइन अमानवीय, यातना केन्द्रमा परिणत भएको रिटमा उल्लेख छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री ८ वटा क्वारेन्टाइन नै व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताउँछन् । भन्छन्, ‘तीन दिनमा ५ लाखको खर्च आउँछ । खर्चैै धान्न सक्ने अवस्था छैन ।’

८ स्थानीय तहका ९४ वटा क्वारेन्टाइनमा सोमबारसम्म ४ हजार ९६ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । जिल्लामा ८७ वटा अर्थात् ९२.५५ प्रतिशत क्वारेन्टाइन विद्यालयमै छन् । ७ वटामध्ये कोहलपुर बहमुखी क्याम्पस र नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्पसलाई पनि क्वारेन्टाइन बनाइएको छ ।

शिक्षा इकाइ तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार जिल्लाभरि प्राथमिकदेखि माध्यमिक गरी २ सय ५० विद्यालय छन् । तीमध्ये आधाभन्दा बढीको छानो टिनले छाइएको छ । जेठ महिनामा नेपालगन्जमा ४१.८ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । नरैनापुरका १५ क्वारेन्टाइनमा एकाधबाहेक कुनैमा पनि विद्युत् सेवा पुगेको छैन ।

‘टिनको छानोमा क्वारेन्टाइन बनाउनु नै मापदण्ड पुग्दैन’, अधिकारकर्मी आलम खान भन्छन्, ‘अहिले टिनको छानोमै आइसोलेसन बनाउनु झन् मापदण्डविपरीत काम भइरहेको छ ।’
अन्नपुणर्पोष्टबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!