पर्वतका सवै विकास आयोजनाको काम ठप्प - News site from Nepal
पर्वतका सवै विकास आयोजनाको काम ठप्प

पर्वत – जिल्लामा सञ्चालीत सवै विकास आयोजनाहरु ठप्प भएका छन । कोरोना संक्रमणका कारण सरकारले देशलाई दुई हप्ता लामो लक डाउनमा लगेको छ । यो अवधिमा पर्वत जिल्लामा सञ्चालनमा रहेका सवै खालका विकास आयोजनाहरुको काम ठप्प भएका हुन ।

पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दयाराम अधिकारीका अनुसार कार्यालय मार्फत सञ्चालीत साना र ठुला दुवै आयोजनाको काम हुन सकिरहेको छैन । मजदुरहरुमा कोरोना त्रासका कारण आयोजनाको काम ठप्प भएको हो । आयोजनामा काम गर्ने मजदुर त्रासका कारण कार्य क्षेत्र छाडेर गृह जिल्लामा गएका छन । निर्माण कम्पनीले पनि मजदुरलाई फिल्डमै राखेर काम गर्ने अवस्था छैन । इन्जिनियर अधिकारीले भने–‘लक डाउनको अवधिमा काम नहुँदा यसले आयोजनाको काम धेरै पछाडी धकेलिन्छ’ । मौैसमको हिसावले आयोजनामा काम गर्ने उत्तम समय यो अवधि भएपनि संक्रमणको सम्भावनाका कारण सवै आयोजनाका निर्माण कम्पनीले आयोजनाको निर्माण कार्य बन्द गरेका छन ।

पूर्वाधार कार्यालयका लेखा प्रमुख गौरबदास बैरागीका अनुसार लक डाउन अघि नै कार्यालयको वित्तिय प्रगति ६० प्रतिशत थियो । अधिकांश ठूला आयोजनाहरुमा निर्माणको काम धमाधम भइरहेको बताउँदै बैरागीले साना आयोजनाहरु अधिकांश सम्पन्न हुने अवस्थामा पुगेको जानकारी दिए । लक डाउनका कारण अधिकांश आयोजनाहरु सम्पन्न हुने चरणमै अलपत्र परेको बतउँदै उनल सडक र पुल निर्माण कार्य पूर्णरुपमा ठप्प परेको जानकारी दिए ।

पर्वत जिल्लामा झण्डै १७ वटा ग्रामीण सडकहरुमा कालोपत्रे र स्तरोउन्नतीको काम भईरहेको छ । जिल्ला भित्रै झण्डै आधा दर्जन खोलाहरुमा मोटरेवल पुलको निर्माण कार्य पनि भईरहेको छ । यसैगरी स्थानीय तहहरु मार्फत पनि सयौ आयोजनाहरु सञ्चालनमा रहेका छन । लक डाउनका कारण पर्वत जिल्लाका ७ स्थानीय तहका सवै आयोजनाहरुको निर्माण कार्य पनि बन्द भएका छन ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले आयोजनाको फछ्यौट अवधि जेठ अघि नै भित्र तोकिए पनि त्यो अवधिमा आयोजनाहरुको काम पुरा नहुने अवस्था आएको बताउँछन ।

जलजला गाउँपालिकाले पनि असार अघि नै आयोजनाहरु सक्ने योजना गरेको भए पनि त्यो अवधिमा आयोजनाको काम पुरा नहुने प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाई छ । कतिपय आयोजनाहरुको बोलपत्र आब्हान भएको छ ।

यो अवधिमा बोलपत्र खोल्ने र निर्माण ब्यवसायीसंग सम्झौता गर्नुपर्ने हुन्छ । यी सवै आयोजनाको काम ठप्प परेको छ । सघिय सांसदको संयोजकत्वमा खर्च हुने स्थानीय पूर्वाधार विकास आयोजनाका कामहरु पनि बन्द भएका छन ।

पैयू गाउँपालिकामा शहिद स्मारक भवन निर्माणको बोलपत्र आब्हान भए पनि त्यो आयोजनामा निर्माण ब्यवसायीले इच्छा देखाउने हुन कि होइनन भन्ने अझै यकिन हुन सकिरहेको छैन । पैयूका प्रमुख प्रशासकय अधिकृत जीतबहादुर रानाले साना आयोजनाको काम पनि बन्द अवस्थामा रहेको बताए ।

फलेवास नगरपालिकाले आब्हान गरेका बोलपत्रहरुमा पनि ब्यवसायीले यहि अवस्थामा रहेका इच्छा ब्यक्त गर्ने अवस्था छैन । नगरप्रमुख पदमाणी शर्माले साझेदारीमा प्रदेश र संघबाट ल्याएका आयोजनाहरुको काम अलपत्र पर्न सक्ने बताए । विहादी गाउँपालिकाले पनि आयोजनाहरुको काम समयमा सक्न ताकेता गरे पनि देशमा संक्रमणकाल लम्बिन सक्ने भएका कारण आयोजनाहरु समयमा सम्पन्न हुन नसक्ने प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थी बताउँछन ।
महाशिला गाउँपालिका र कुश्मा नगरपालिकाका सवै विकास आयोजनाका कामहरु बन्द अवस्थामा रहेको त्यहाँका प्रशासकीय अधिकारीहरुको भनाई छ । पर्वत जिल्ल्लामा निर्माण भईरहेका झोलुंगे पुलहरुको काम पनि बन्द अवस्थामा रहेको झोलुगे पुलमा सहजीकरण गरीरहेको संस्था खुर्कोट युवाक्लबका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पर्वत जिल्लामा कालीगण्डकी लोकमार्ग, मध्यपहाडी लोकमार्ग गरी दुई वटा राष्ट्रिय गौरबका आयोजनाहरु पनि निर्माणको चरणमा रहेका छन । दुवैको काम प्रभावित भएको छ । लोकमार्ग अन्तर्गत सेतीवेणी देखि रानीपानीसम्मको सडक कालोपत्रेको चरणमा थियो । विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालका अनुसार त्यो काम बन्द अवस्थामा छ यसैगरी बर्राचौर देखि फलेवास ढिकसम्मको सडक ग्रावेल सहित स्तरोउन्नतीको चरणमा थियो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार त्यो सडकमा पनि काम हुन सकिरहेको छैन । सडक अन्तर्गत निर्माणधिन मोदीखोलको पुलले पनि गति लिन नसकेको स्थानीय मेघनाथ सुवेदीले जानकारी दिए ।

यसैगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम पनि बन्द अवस्थामा छ । मध्यपहाडी लोकमाार्ग आयोजनाका पर्वत कार्यालय प्रमुख आशिष थापा मगरका अनुसार आयोजनामा मजदुरको अभाव भएपछि सवै काम बन्द भएको अवस्था छ । पर्वत खण्डको भिर कटिङको काममा विस्फोट गर्ने कामलाई निरन्तरता दिन सकिने भए पनि सुरक्षा चुनौति र कामदार अभावका कारण त्यो कामले पनि गति लिन नसकेको आयोजना प्रमुख थापाले बताए ।

जिल्लामा सञ्चालीत सिचाइका आयोजनाहरु समेत अलपत्र परेका छन । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुख थलबहादुर तामाङका अनुसार आयोजनाहरुको काम बन्द छन । केहि आयोजनाहरुको सम्भाब्यता अध्ययन गर्ने काम पनि रोकिएका छन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका अनुसार पर्वत जिल्लामा सञ्चालीत खानेपानी आयोजनाका सवै काम बन्द छन । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालका अनुसार पछिल्लो पल्ट टेण्डर आब्हान भएर काम शुरु हुने भनिएका थप बजेटका कार्यक्रम पनि अन्यौलमा देखिएका छन । अवस्था यस्तै रहे ति योजनाहरुको पनि काम शुरु हुन नसक्ने उनको भनाई छ । बाँकी आयोजनाहरुको काम पनि हुन सकिरहेको छैन । राष्ट्रिय गौरबका प्रसारण लाईनका काममा पनि अवरोध भएको छ । नयाँ लेखनाथ मोदी प्रसारण आयोजाको काम बन्द अवस्थामा छ । कालीगण्डकी प्रसारण करिडोरमा पनि काम हुन सकिरहेको छैन । यसले दुूत र तिव्रमा भईरहेका सवै आयोजाको काम बन्द हुँदा समयमा काम नसकिने सम्भावना बढेको छ ।

लक डाउन कायमै गरे यो बर्षको पुँजीगत निकै कम हुने देखिन्छ । यस अघि पर्वतमा सडक, खानेपानी, सिंचाई र अन्य साना पूर्वाधारका कामहरुले रप्तार लिएका थिए । कोरोना संक्रमणका कारण देशभर जस्तै विकास निर्माणमा पर्वतमा पनि ठूलो प्रभाव देखिएको छ । लक डाउन कायमै रहे घरमा गएका मजदुर काममा नर्फिए समग्र जिल्लाको खर्च बढिमा ४० प्रतिशत हुने अनुमान गरिएको छ । यसले विकास निर्माण जनताले खोजेको असफलता भने प्राप्त गर्न नसकिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!