पर्वत – परिवारसहित बेल्जियममा रहँदै आएका पर्वतका एक युवाको शव बेल्जियमको आस्कोट ट्रेन लीगमा भेटिएको छ ।
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसी शव क्षतविक्षत अवस्थामा फेला परेको हो ।
बेल्जियमको लुभेनमा बस्दै आएका जैसीको शब प्रहरीले फेला पारी सोमवार मध्यरातमा परिवारलाई जानकारी गराएको हो ।
उनले केही समय अघिदेखि आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेको जनाइएको छ ।
उनले आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए । बेल्जियममा उनका बुवा हरिराम जैसी र आमा देवी जैसी, पत्नी र छोरी छन् ।
नेकपा निकट प्रगतिशील महिला मञ्चकी पूर्व अध्यक्ष तथा बेल्जियममा नेकपाको राजनीति गर्ने कल्पना मगरका अनुसार जैसी एकदमै सोझा व्यक्ति थिए । ‘एकदमै सिधा थिए ती भाइ । बेल्जियमको नेपाली समाजको लागि दुःखद घटना घट्यो,’ उनले भनिन्, ‘उनी डिप्रेसनको बिरामी थिए भन्ने पनि सुनेको थिए, बिरामी मान्छेलाई परिवारले हेरचाह गर्नुपर्थ्यो ।’
नेपाल जनसम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले भने, ‘यो हत्या हो कि आत्महत्या हो यसै भन्न सकिन्न तर शव बुझेर सदगदको तयारीमा लागेका छौं ।’
बेल्जियममा रहेका नेपालीले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।