नयाँ संक्रमित बेल्जियममा छोरी भेटेर फर्किएकी बानपा -३ गौडाकोटकी ६५ वर्षीया महिला - News site from Nepal

बागलुङ : कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा बिहीबार कोरोना पुष्टि भएको छ।

कतार एयरको ६५२ नम्बरको विमानमा नेपाल आएका काठमाडौ र बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएपछि सोही विमानमा सवार बागलुङ नगरपालिका ३ की महिलाको स्वब परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो।

परीक्षणबाट ती महिलामा पनि कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

संक्रमणको पोजेटिभ रिपोर्ट आएकी महिला फागुनको दोस्रो सातामा कान्छी छोरी भेट्नका लागि बेल्जियम पुगेकी थिइन्। छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नभएको भन्दै धेरै दिनसम्म उनको नमुना संकलनसमेत गरिएको थिएन।

पछिल्ला दिनमा जिल्लामा जोखिम बढ्दै गए पछि एकै विमानमा सवार बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो।

संक्रमित युवती र महिला सवार विमानमा सँगै आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ।

संक्रमित बागलुङ नगरपालिका ४ कुडुलेकी युवती सँगै काठमाडौं उत्रिएर पोखरा हुँदै बागलुङ आएकी महिला घरमै परिवारसँगै बसेकी थिइन्। उनको परिवारमा ९० वर्षीय ससुरा, बुहारी र दुई नाती छन्। एउटै विमानमा आएकी काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएर कुडुलेका युवतीलाई सामान्य ज्वरोको लक्षण देखिएपछि मात्रै ती महिला होम क्वारेन्टाइनमै छुट्टै बस्दै आएकी छन्।

जिल्लामा दुईजना संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको छ। कोरोना संक्रमण देखिएका कुडुलेकी युवतीको परिवारका ७ जना सदस्य सहित ११ जनाको नमुना स्वाब पठाइएकोमा संक्रमित किशोरीका बुवा, हजुर बुवा, हजुआमा, फुपु, फुपुका छोरा र छोरीमा संक्रमण नभएको रिपोर्ट आएको छ।

अन्य केहीको भने रिपोर्ट आउन बाँकी छ। संक्रमित महिला गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयररको क्यूआर ६५२ बाट नेपाल आएकी थिइन्।
अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!