मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगे प्रधानमन्त्री - News site from Nepal
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज आइपुगेका छन्। ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन्। प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। अस्पताल जानुअघि प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत् सम्बोधन गरेका थिए।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिने भएको छ।मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टिमले गर्ने भएको छ।

युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन्। उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।

प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन्। यसअघि भने बुहारी नाताकी अञ्‍जना घिमिरेले मिर्गौला दिएकी थिइन्। आइतबार बिहान ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीले स्वास्थ्य जाँच गराए थिए। स्वास्थ्य जाँच गरिएको रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए। पुन : स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गराएका थिए।

१५ दिनको बसाइपछि उनी स्वदेश फर्केका थिए।त्यसपछि भने उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!